नेपाल यातायात व्यवसायी महासङ्घमा सिटौलाको नेतृत्व



काठमाडौं,बैशाख ३१ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट पुण्यप्रसाद सिटौलाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । वैशाख २७ गतेदेखि पोखरामा सुरु भएको महाधिवेशन बुधबार नयाँ नेतृत्व चयनसँगै सम्पन्न भएको हो ।अध्यक्ष पदमा सिटौलाले एक हजार ३० मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी हरिशरण केसीले चार सय ६४ मत प्राप्त गर्नुभयो ।

महासङ्घको तीन वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, ऐनकुमार साई र केदारप्रसाद पौडेल निर्वाचित हुनुभएको छ । प्रजापतिले सर्वाधिक आठ सय २६ मत, साईले सात सय ४९ मत र पौडेलले पाँच सय ७९ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । वरिष्ठ उपाध्यक्ष पदका लागि छ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

यस्तै महासचिवमा डेकनाथ गौतम ६ सय ९८ मतसहित निर्वाचित हुनुभयो भने कोषाध्यक्षमा राजेन्द्र आचार्य ७ सय १६ मतसहित विजयी हुनुभयो । सात उपाध्यक्षमा चन्द्र ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा १३ जनाको उम्मेदवारी परेको थियो ।

त्यसैगरी उपमहासचिवमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम थापा निर्वाचित भएका छन् भने सचिवमा उमेश केसी, चेतप्रसाद गौतम र टेकप्रसाद बस्याल विजयी हुनुभएको छ । सहकोषाध्यक्षमा शोभाखर पौडेल निर्वाचित हुनुभएको छ ।

महासङ्घका ८६ पदका लागि भएको निर्वाचनमा एक हजार ६ सय ६३ प्रतिनिधिले मतदान गरेका थिए । नवनिर्वाचित अध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै व्यवसायीका समस्या समाधानका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्