नुवाकोट किम्ताङको कालो रात : एउटै कुलोको विवादले दुई दाजुभाइको जीवन समाप्त
• भरतसन्तोषी लामा
नुवाकोट,बैशाख ३१ । मंगलबार राति नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङ अस्वाभाविक रूपमा चुप थियो । पहाडको गाउँमा रात छिप्पिँदै जाँदा मानिसहरू आ–आफ्ना घरभित्र थिए । तर राति करिब ११ बजेतिर अचानक दुई पटक बन्दुक पड्किएको आवाजले गाउँको सन्नाटा चिरियो ।
त्यो आवाजलाई धेरैले सामान्य ठाने, कसैले जंगली जनावर तर्साउन पड्काइएको होला भनेर अनुमान गरे । तर भोलिपल्ट बिहान त्यो आवाज किम्ताङका लागि एउटा कहालीलाग्दो सत्य बनेर फर्कियो ।
बुधबार बिहान गाउँका दुई युवा—३५ वर्षीय समराज तामाङ र उनका भाइ सुर्यमान तामाङ—अचानक सम्पर्कविहीन भए । परिवार र छिमेकीहरू खोजीमा लागिरहेका बेला वडा अध्यक्ष कमल तामाङको मोबाइलमा एउटा फोन आयो । फोन गर्ने व्यक्ति थिए स्थानीय धने तामाङ ।
फोनमा उनले दिएको जानकारीले गाउँको मुटु नै हल्लियो ।
“मैले दुई दाजुभाइलाई मारें…”
त्यसपछि किम्ताङको हावा नै बदलियो । मानिसहरूको अनुहारमा त्रास फैलियो । कोही विश्वास गर्न सकिरहेका थिएनन् कि सँगै हुर्किएका, एउटै गाउँमा रमाइरहेका मानिसबीच यस्तो भयावह घटना हुन सक्छ ।
दिउँसो खोजी गर्दै जाँदा मृतक दाजुभाइको शव घरदेखि करिब डेढ सय मिटर तल किम्ताङको बेसीस्थित कुन्दोलुङ खोलामा गाडिएको अवस्थामा फेला पर्यो । शव निकाल्दा उपस्थित स्थानीयहरू स्तब्ध बने । भाइ सुर्यमानको छातीमा तीन वटा गोली लागेको थियो भने दाइ समराजको टाउकोमा गोली लागेको अवस्था थियो ।
घटनास्थलमा बन्दुकमा प्रयोग हुने कपडा, केही दाँत र खुकुरीसमेत फेला परेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि त्रिशुली लगिएको छ ।
सबैभन्दा पीडादायी कुरा त के छ भने, मर्ने र मार्ने दुवै एउटै पूर्खाका सन्तान थिए । एउटै गाउँ, एउटै रगत, एउटै सम्बन्ध—तर अन्त्य यस्तो भयो, जसले सिंगो गाउँलाई स्तब्ध बनायो ।
वडाध्यक्ष कमल तामाङका अनुसार घटना कुलो निर्माणको विवादसँग जोडिएको देखिएको छ । स्थानीय ठेकेदार चन्दन घलेको ठेक्कामा हत्या आरोपी धने तामाङले निर्माणको जिम्मा लिएका थिए । तर मृतक दाजुभाइले “माथि बन्नुपर्ने कुलो तल बनाइएको” भन्दै विरोध गर्दै आएका थिए । साविक वडा नम्बर १ अन्तर्गत कुलोसाङ पन्दलामा निर्माण भइरहेको कुलोकै विषयलाई लिएर विवाद चर्किएको स्थानीय बताउँछन् ।
तर कसैले पनि त्यो विवाद यति भयानक मोडमा पुग्छ भनेर सोचेका थिएनन् । अझ पीडादायी कुरा, आरोपी धने तामाङ र मृतक दाजुभाइको घरको दूरी जम्मा पाँच मिनेटको मात्रै थियो । हिजोसम्म एकअर्काको घरमा आउजाउ गर्ने मानिसहरूबीच आज मृत्युको दूरी खडा भएको छ ।
समराजकी एक छोरी छन् । तर श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि उनी छोरीकै भविष्यको चिन्तामा संघर्षरत थिए । भाइ सुर्यमानका एक छोरा छन् भने उनकी श्रीमती विदेशमा रहेको बताइएको छ । अहिले वृद्ध बुबा फुलबहादुर तामाङ, ६० वर्षको उमेरमा, आफ्ना दुई जवान छोराको शव हेरेर विक्षिप्त बनेका छन् ।
त्रिशुली बजारबाट ६१ किलोमिटर टाढाको त्यो गाउँ अहिले रुँदैछ । किम्ताङमा अहिले चुल्हो कम बल्छ, आँसु बढी बग्छ । गाउँभरि एउटै प्रश्न गुञ्जिरहेको छ—“एउटै कुलोको विवादले दुई जीवन किन खोस्यो ?”
गोलीको आवाज रोकिएको छ, तर त्यसको प्रतिध्वनि अझै किम्ताङको पहाडमा गुञ्जिरहेको छ । प्रहरीले घटनाको गहिरो अनुसन्धान गरिरहेको जनाएको छ ।

