गोरखामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



गोरखा, वैशाख ३१ । गोरखामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बेलुका करिब ९ः१५ बजे गोरखा नगरपालिका–१३ स्थित तीनकिलो क्षेत्रमा रहेको गोरखा–आँबुखैरनी सडकखण्डमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ का अनुसार बा. ९९ प. ५५९ नम्बरको मोटरसाइकलले सडक छेउमा हिँडिरहेका अन्दाजी ५० वर्षीय पुरुषलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका ती पैदलयात्रीलाई तत्काल आँबुखैरनी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि चितवनको भरतपुर पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन ।

दुर्घटनापछि मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–५, कोरेन निवासी २५ वर्षीय रक्की कुँवरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।

दुर्घटना भएको तीनकिलो क्षेत्र पृथ्वी राजमार्गअन्तर्गत व्यस्त सडकखण्ड मानिन्छ । दैनिक रूपमा सवारी साधनको अत्यधिक चाप रहने उक्त क्षेत्रमा गति नियन्त्रण, ट्राफिक सङ्केतको प्रभावकारी व्यवस्थापन तथा पैदलयात्री सुरक्षित रूपमा वारपार गर्न सकिने संरचना निर्माण गर्न स्थानीयले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्