नुवाकोट दाजुभाइ हत्या प्रकरण : ६ जना पक्राउ



नुवाकोट,बैशाख ३१ । नुवाकोटमा दुई दाजुभाइको हत्या भएको घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा बुधबार दुई दाजुभाइको शव फेला परेपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान तीव्र बनाएको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी विपिन रेग्मी ले दाजुभाइ हत्या प्रकरणमा हालसम्म ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जानकारी दिएका छन्।

“अनुसन्धानका लागि अहिले हामीले ६ जनालाई पक्राउ गरेका छौं। घटना कसरी भयो, क–कसको संलग्नता थियो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको छ,” एसपी रेग्मीले बताए।

मृतकहरू किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङ रहेका छन्। उनीहरूको शव किम्ताङ खोलामा ढुंगाले थिचेर लुकाइएको अवस्थामा बुधबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ। घटनास्थल नुवाकोट र धादिङको सीमावर्ती जंगल क्षेत्रमा पर्ने बताइएको छ।

प्रहरीका अनुसार बुधबार बिहान करिब १० बजे घटनाबारे सूचना प्राप्त भएपछि खोजतलास सुरु गरिएको थियो। प्रारम्भिक रूपमा गोली प्रहार गरेर हत्या गरिएको सूचना प्राप्त भए पनि घटनाको वास्तविक कारण र प्रयोग भएको हतियारबारे अझै स्पष्ट भइसकेको छैन।

घटनास्थलबाट खुकुरी बरामद भएकाले धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। यद्यपि पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने एसपी रेग्मीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्