नुवाकोट हत्या प्रकरण : भरुवा बन्दुक प्रहार गरी हत्या गरेको आरोपमा मुख्य अभियुक्त पक्राउ
नुवाकोट,बैशाख ३१ । नुवाकोटको म्यागङ गाउँपालिकामा दुई जनाको हत्या प्रकरणमा संलग्न मुख्य अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ। पुरानो रिसिइबीका कारण भरुवा बन्दुक प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार म्यागङ गाउँपालिका–१ किम्ताङबेँसी निवासी ३६ वर्षीय धनबहादुर तामाङ उर्फ धने तामाङले सोही क्षेत्रका करिब ४३ वर्षीय समराज तामाङ र उनका भाइ ३६ वर्षीय सुर्यमान तामाङमाथि भरुवा बन्दुक प्रहार गरेका थिए।
घटनाबारे बुधबार बिहान १० बजे सूचना प्राप्त हुनासाथ अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोलीले किम्ताङबेँसीको तोमजोङ खोलास्थित पानीभित्र ढुंगाले चेपेर लुकाइराखिएको अवस्थामा दुवै दाजुभाइको शव फेला पारेको जनाएको छ।
प्रहरीले घटनास्थल मुचुल्का लगायत कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि त्रिशुली अस्पताल पठाएको छ। घटनासँग सम्बन्धित चार जनालाई प्रारम्भिक चरणमै नियन्त्रणमा लिइएको थियो।मुख्य अभियुक्त धने तामाङ र उनका सहयोगी माईला भनिने सोमबहादुर तामाङ भने फरार रहेका थिए।
फरार अभियुक्तहरूको खोजीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट, तालुक प्रहरी कार्यालयहरू तथा जिल्ला प्रहरी कार्यालय धादिङबाट संयुक्त रूपमा प्रहरी परिचालन गरिएको थियो। त्यसक्रममा दुवै अभियुक्तलाई बिहीबार बिहान करिब ५ः४० बजे धादिङको खनियाँबास गाउँपालिका–५ भिरवन क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा प्रयोग भएको आशंकामा तीन थान भरुवा बन्दुक र एक थान मोटरसाइकल समेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।


