नुवाकोट लिखुमा लगातार तेस्रो वर्ष ‘टपर’ बन्यो ज्योति कुन्ज अङ्ग्रेजी विद्यालय



नुवाकोट,बैशाख ३१ । नुवाकोटको लिखु गाउँपालिका–६ थान्सिङ फाँटमा रहेको श्री ज्योति कुन्ज अङ्ग्रेजी विद्यालय ले लगातार तेस्रो वर्ष पनि गाउँपालिकाभित्र उत्कृष्ट नतिजा कायम गर्न सफल भएको छ ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यालयले शतप्रतिशत नतिजासहित उत्कृष्ट जीपीए ल्याएर आफ्नो अग्रता कायम राखेको हो । विद्यालयबाट सहभागी सबै १२ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

विद्यालयका अनुसार २०८२ सालको एसईईमा छात्रा रियाना गौतमले ३.९६ जीपीए ल्याएर विद्यालय तथा गाउँपालिकामै उत्कृष्ट नतिजा हासिल गरेकी छन् । यसअघि २०८० सालमा सम्भावी पाण्डेले ३.७८ जीपीए र २०८१ सालमा सम्भव पाण्डेले ३.९२ जीपीए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका थिए ।

लगातार उत्कृष्ट नतिजा हासिल गर्दै आएको विद्यालयले गुणस्तरीय शिक्षासँगै अनुशासित पठनपाठन र अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको विद्यालयका प्रधानाध्यापक रबिन्द्र डङ्गोलले बताउनुभयो ।

यता, यस वर्ष सामुदायिक विद्यालयतर्फ भने क्षेत्रपाल माध्यमिक विद्यालयले ९२.११ प्रतिशतसहित उत्कृष्ट विद्यालय बनेको छ । त्यस्तै थान्सिङमा रहेको बच्छला माध्यमिक विद्यालय ८२.३५ प्रतिशतसहित दोस्रो , नारायणदेवी माविको ७० प्रतिशतसहित तेस्रो स्थान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्