स्कटल्यान्डले अमेरिकालाई दुई रनले हरायो, लिग–२ मा शीर्षस्थानमा उक्लियो



काठमाडौं,बैशाख ३१ । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय एकदिवसीय विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार भएको खेलमा स्कटल्यान्डले अमेरिकालाई दुई रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वर्षाले प्रभावित खेलमा ओभर घटाएर अमेरिकालाई ३२ ओभरमा दुई सय ४९ रनको लक्ष्य दिइएको थियो । तर अमेरिकाले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै दुई सय ४६ रन मात्र बनाउन सक्यो ।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले उत्कृष्ट शतकीय पारी खेल्नुभयो । उहाँले ७५ बलमा पाँच चौका र आठ छक्काको सहयोगमा शतक पूरा गर्नुभयो । ओपनर स्मिथ पटेलले ७२ रन बनाउनुभयो भने शुभम् रञ्जनेले १६ रन जोड्नुभयो । कप्तान मोनङ पटेल ठूलो स्कोर बनाउन असफल हुनुभयो । स्कटल्यान्डका बलर ब्राड करी, ब्रान्डन म्याकमुलेन र सफायान सरिफले समान दुई–दुई विकेट लिनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४७ ओभरमा ६ विकेट गुमाउँदै तीन सय २१ रनको विशाल योगफल तयार गरेको थियो ।वर्षाका कारण खेल ढिला सुरु भएपछि ओभर घटाइएको थियो ।स्कटल्यान्डका ओपनर फिन्ले म्याकक्रिथले ७७ रनको महत्वपूर्ण पारी खेल्नुभयो । उहाँले ६ चौका र एक छक्का प्रहार गर्नुभयो । ब्रान्डन म्याकमुलेनले ५५ रन, माइकल इङ्लिसले ५८ रन, माइकल लिस्कले अविजित २८ रन र मार्क वाटले अविजित २५ रन बनाउनुभयो ।

अमेरिकाका जसदिप सिंह र सौरभ नेत्रभाल्करले समान दुई–दुई विकेट लिनुभयो । मिलिन्द कुमार र शुभम् रञ्जनेले एक–एक विकेट लिनुभयो । यो जितसँगै स्कटल्यान्ड ३० खेलबाट ३८ अङ्कसहित शीर्षस्थानमा पुगेको छ । अमेरिका २५ खेलबाट ३६ अङ्कसहित दोस्रो स्थानमा झरेको छ ।

लिगमा सहभागी नेपाल २५ खेलबाट १८ अङ्कसहित सातौँ स्थानमा छ । आठौँ स्थानमा रहेको संयुक्त अरब इमिरेट्सको २४ खेलबाट १४ अङ्क छ । अब नेपालले जेठ २ गते अमेरिकासँग, जेठ ४ गते स्कटल्यान्डसँग र जेठ ८ गते पुनः अमेरिकासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्