एनसेल मुख्यालयका कागजपत्र सिआईबीको नियन्त्रणमा
काठमाडौं,बैशाख ३१ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको लैनचौरस्थित मुख्यालयबाट अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिएको छ।
उक्त कम्पनीमा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनको सिफारिस र दूरसञ्चार प्राधिकरणले गरेको पत्राचारका आधारमा एनसेलमाथि अनुसन्धान अगाडि बढाइएको सिआईबीले जनाएको छ ।
गैरकानुनी रुपमा स्मार्ट टेलिकमको सामान लिलामी सकारेपछि एनसेल विवादमा मुछिएको हो ।
त्यसअघि, शेयर बाँडफाँट सम्बन्धी विवादास्पद गतिविधिका कारण एनसेल अनुसन्धानको दायरामा आएको सिआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेष्टमेण्ट बैंकसँग मिलेर गैरकानुनी रुपमा सम्पत्ति लिलामी गरेपछि उक्त कम्पनीका अन्य विषयमाथि पनि अनुसन्धान अगाडि बढाइएको हो ।

