मकवानपुरमा खैरो हेरोइनसहित ६ जना पक्राउ
मकवानपुर,बैशाख ३१ । मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका–१० स्थित सडकखण्डबाट दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–३ घर भई हाल हेटौँडा–४ मा डेरा गरी बस्ने २३ वर्षीय रोहन कुशवार र इटहरी उपमहानगरपालिका–१० घर भई हाल हेटौँडा–४ मै डेरा गरी बस्ने २४ वर्षीया सुमित्रा राई रहेका छन् ।
शङ्कास्पद रूपमा पैदल हिँडिरहेको अवस्थामा उनीहरूलाई फेला पारी खानतलासी गर्दा कुशवारको साथबाट एक सय चालिस मिलिग्राम लागुऔषध खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजुप्रसाद कुर्मिले जानकारी दिनुभयो ।उनीहरूलाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागुऔषध कसुर मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, मकवानपुरको बकैया गाउँपालिका–७ बाट तीन ग्राम दुई सय असी मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । बकैया गाउँपालिका–७ का विजय भोलनको घरमा शङ्कास्पद रूपमा बसिरहेको अवस्थामा ३४ वर्षीय विजय भोलन, २३ वर्षीय विशाल लोप्चन, बकैया–३ का ३४ वर्षीय सञ्जीव लामा र जितपुर सिमरा उपमहानगरपालिका–१६ का १९ वर्षीय विजय मोक्तान पक्राउ परेका हुन् ।
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागुऔषध कसुर मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

