जनमतले साथ छाडेपछि आज विश्वासको मत लिँदै मुख्यमन्त्री यादव



जनकपुरधाम,जेठ १ । जनमत पार्टीले समर्थन फिर्ता लिएपछि कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज विश्वासको मत लिने भएको छ ।

मुख्यमन्त्री यादवले शुक्रबार बिहान ११ बजे बस्ने मधेश प्रदेश सभा को बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुहुनेछ । वैशाख २८ गते बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गते विश्वासको मत लिने निर्णय गरेको थियो ।

मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टी ले वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संविधान तथा कानुनअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

हाल मधेश प्रदेशसभामा १०२ जना सदस्य कायम रहेका छन् । सरकारलाई बहुमतका लागि ५२ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्ने भए पनि सरकारसँग अहिले ६३ जना सदस्यको समर्थन रहेको बताइएको छ ।

सरकारलाई नेपाली काँग्रेस का २२, जनता समाजवादी पार्टी नेपाल का २६ तथा नेपाल कम्युनिष्ट पार्टी का १५ जना प्रदेशसभा सदस्यको समर्थन कायम रहेको नेपाली काँग्रेस मधेश प्रदेश संसदीय दलले जनाएको छ ।

राम अशिष यादव ले शुक्रबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको जानकारी दिनुभएको छ । बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने तथा विभिन्न दलका नेताहरूले आ–आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्