काठमाडौँ महानगर वडा–२२ मा शनिबार बृहत् वडा महोत्सव हुँदै



काठमाडौं,जेठ १ । काठमाडौँ महानगरपालिका वडा नं. २२ क्षेत्रमा भोलि जेठ २ गते शनिबार बृहत् वडा महोत्सव आयोजना हुने भएको छ ।

वडा अध्यक्ष चिनी काजी महर्जन का अनुसार वडा क्षेत्रभित्र रहेका ऐतिहासिक, सामाजिक, व्यावसायिक, सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षण, प्रदर्शन र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवअन्तर्गत नयाँसडक, प्युखा, वटु, सुन्धारा, टेबहाल, धर्मपथ र खिचापोखरीलगायत विभिन्न स्थानमा विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

कार्यक्रममा धिमे बाजा प्रतियोगिता, दीपक बज्राचार्य एण्ड रिदम ब्यान्ड तथा कुटुम्बको सांगीतिक प्रस्तुति, स्थानीय कलाकारहरूको सांस्कृतिक बाजा, नृत्य र गीत प्रस्तुत गरिनेछ । साथै १५० भन्दा बढी हस्तकला, घरेलु उत्पादन, तयारी पोशाक, जुत्ता, ब्याग, मोबाइल तथा विद्युतीय सामग्रीका स्टल रहनेछन् ।

त्यसैगरी ५० भन्दा बढी परम्परागत तथा अन्य खानाका परिकारको प्रदर्शनी, भाषा तथा साहित्य महोत्सव, सम्मान कार्यक्रम, ऐतिहासिक तस्बिर तथा चित्र प्रदर्शनी, बाल मनोरञ्जन कार्यक्रम र ६ स्थानमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिने वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्