बागमती प्रदेश सभाको हिउँदे अधिवेशन आज रातिदेखि अन्त्य हुने
मकवानपुर,जेठ १ । बागमती प्रदेश सभाको चालू हिउँदे अधिवेशन आज शुक्रबार राति १२ बजेदेखि अन्त्य गरिने भएको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले जेठ १ गते शुक्रबार रातिदेखि प्रदेश सभाको १७औँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजनामन्त्री प्रभात तामाङ ले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो । संविधानअनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान तथा अन्त्य गर्ने व्यवस्था रहेको छ ।
प्रदेश सभाको चालू अधिवेशन गत चैत २४ गतेदेखि सुरु भएको थियो ।
यसैबीच मन्त्रिपरिषद् बैठकले दुईवटा संशोधन विधेयक प्रदेश सभामा पठाउनुअघि मन्त्रिपरिषद्को समितिमा छलफलका लागि पठाउने निर्णय पनि गरेको छ । वातावरण संरक्षण ऐन संशोधन गर्न बनेको विधेयक र प्रदेश उच्च शिक्षा ऐन, २०७८ संशोधनसम्बन्धी विधेयक समितिमा पठाइने मन्त्री तामाङले बताउनुभयो ।
त्यस्तै बैठकले ‘प्रदेश निजामती सेवा नियमावली, २०८१’ स्वीकृत गरेको छ । साथै काभ्रेपलाञ्चोकमा रहेको स्वास्थ्य तालिम केन्द्रलाई प्रदेश राजधानी हेटौँडामा स्थानान्तरण गर्ने निर्णयसमेत गरिएको छ ।

