पाथीभरामा एक महिनामै एक करोडभन्दा बढी भेटी सङ्कलन
ताप्लेजुङ,जेठ १ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा वैशाख महिनामा मात्रै एक करोड ६ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ।
पाथीभरा क्षेत्र विकास समिति ले सार्वजनिक गरेको विवरणअनुसार वैशाख महिनामा भक्तजनहरूले १ करोड ६ लाख २८ हजार रुपैयाँ भेटी चढाएका हुन्। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङ का अनुसार चैत र वैशाखलाई पाथीभरा दर्शनको मुख्य सिजन मानिने भएकाले यस अवधिमा भक्तजनको चाप बढ्दा भेटी सङ्कलन पनि उल्लेख्य भएको हो।
समितिले मन्दिरमा चढाइएको भेटी नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्ने व्यवस्था मिलाएको जनाएको छ। सङ्कलित भेटीलाई पोकामा लाहा छाप लगाएर फेदीसम्म ल्याइने र त्यहाँबाट केही दिनको सङ्कलनपछि फुङ्लिङस्थित कार्यालयमा पु¥याएर गणना गरी बैँकमा जम्मा गरिने प्रचलन रहेको छ।
भेटी गणना कार्य कार्यालय समयमा प्रहरी तथा सिसिटिभी निगरानीमा गरिने समितिले जनाएको छ। समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख महिनामा ५२ हजार २२८ जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर पुगेका थिए।

