विषालु च्याउ खाँदा बालिकाको मृत्यु, दुई जना गम्भीर
चितवन, जेठ १ । विषालु च्याउ खाँदा चितवनको इच्छाकामना गाउँपालिकामा एक बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी परेका छन्।
इच्छाकामना गाउँपालिका–१ कुलवाङ निवासी श्याम चेपाङकी ११ वर्षीया छोरी नमुना चेपाङको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो।
चार दिनअघि जंगलबाट ल्याइएको च्याउ खाएपछि नमुनासहित उनकी १३ वर्षीया दिदी मनिता चेपाङ र ९ वर्षीय भाइ साजन चेपाङ बिरामी परेका थिए। मनिता र साजनको भने अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
विरामी परेपछि पनि परिवारले सुरुमा घरमै बस्दा अवस्था झन् जटिल बनेको वडा नम्बर १ का अध्यक्ष सन्तबहादुर मगरले बताउनुभयो।शुक्रबार मात्रै उनीहरू काउले स्वास्थ्य चौकी पुगेका थिए।
स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि तीनै जनालाई थप उपचारका लागि भरतपुर पठाइएको थियो। इच्छाकामना गाउँपालिकाले बिरामी परिवारलाई भरतपुरसम्म आउजाउको व्यवस्था मिलाएको जनाएको छ।

