दुई दिने बिदापछि विद्यालयमा नयाँ समय व्यवस्थापन



काठमाडौँ, जेठ १ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि विद्यालय तहको पठनपाठन र कार्यघण्टा व्यवस्थापन गर्न पाठ्यक्रम विकास केन्द्रले नयाँ कार्ययोजना लागू गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत २२ गतेको निर्णयअनुसार सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन बिदा दिने व्यवस्था लागू भएपछि विद्यालयको वार्षिक कार्यघण्टा मिलाउन चुनौती देखिएको हो । त्यसपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित कार्यदलको सुझावका आधारमा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले नयाँ व्यवस्थापनसहितको पाठ्यक्रम स्वीकृत गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

केन्द्रका महानिर्देशक युवराज पौडेलका अनुसार विद्यालय सञ्चालन हुने दिन घटेपछि पठनपाठनको समय, अतिरिक्त क्रियाकलाप र परियोजना कार्यलाई समेत समायोजन गरेर वार्षिक कार्यघण्टा पूरा गर्ने व्यवस्था गरिएको छ ।

शिक्षा नियमावली, २०५९ अनुसार एक शैक्षिक सत्रमा कम्तीमा २२० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ । तर सार्वजनिक बिदा, प्रदेश तथा स्थानीय तहले दिने अतिरिक्त बिदा र दुई दिने साप्ताहिक बिदाका कारण विद्यालयलाई कार्यघण्टा पूरा गर्न कठिन हुँदै आएको छ ।

राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार प्रारम्भिक बालविकास तहमा वार्षिक ७६५ घण्टा सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने व्यवस्था छ । कक्षा १ देखि ३ सम्म वार्षिक ८३२ कार्यघण्टा, कक्षा ४ देखि ७ सम्म एक हजार २४ कार्यघण्टा तथा कक्षा ९ देखि १२ सम्म कम्तीमा एक हजार १८४ कार्यघण्टा पठनपाठन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

केन्द्रका अनुसार विद्यालयको दैनिक समयमध्ये प्रार्थना र खाजा समय कटाएर बाँकी समयलाई प्रभावकारी रूपमा उपयोग गरिनेछ । अपुग हुने पाठ्यघण्टा परियोजना कार्य, प्रयोगात्मक अभ्यास तथा विद्यालय समयबाहेकका सिकाइ गतिविधिमार्फत पूरा गरिने व्यवस्था गरिएको छ ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले दुई दिने बिदाको निर्णयलाई शिक्षक महासङ्घले समर्थन गरेको बताउँदै शिक्षक–कर्मचारीसँग सम्बन्धित निर्णय गर्दा परामर्श गर्नुपर्ने धारणा राख्नुभयो ।

यस्तै, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का महासचिव आरबी कटवालले पाठ्यक्रमले तोकेको कार्यघण्टा मिलाउन आवश्यक परे सार्वजनिक बिदामा समेत पठनपाठन सञ्चालन गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्