भ्यान दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु
प्युठान,जेठ १ । प्युठानको माण्डवी गाउँपालिका–१ स्थित डामृखोलामा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।देवीस्थान–दाङ सडक खण्डमा गुडिरहेको लु.प्र.०२–००१ ज ०१०४ नम्बरको भ्यान अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा भ्यान चालक प्युठान नगरपालिका–४ निवासी अन्दाजी २४ वर्षीय दिलीप परियार र मल्लरानी गाउँपालिका–५ धुदी निवासी अन्दाजी २६ वर्षीय अभिषेक कुँवरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको घटनास्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

