धादिङमा ५१ किलो अफिमसहित तीन भरुवा बन्दुक बरामद, तीन जना पक्राउ
धादिङ, जेठ १ । फरार प्रतिवादीको खोजीमा खटिएको प्रहरीले धादिङबाट ठूलो परिमाणमा अफिम र भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले बेनीघाट रोराङ गाउँपालिका–२ होवाङबाट ५१ किलो १ सय ८० ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ पर्नेमा सोही स्थानका ३५ वर्षीय वीरबहादुर तामाङ रहेका छन् । प्रहरीले उनको घर र गोठमा खानतलासी गर्दा अफिम र अवैध हतियार फेला पारेको जनाएको छ ।
प्रहरी नायव उपरीक्षक सुरज कार्कीको नेतृत्वमा खटिएको टोलीले छापा मार्ने क्रममा गोठभित्र लुकाइराखिएको चार फिट ६ इन्च लामो एक थान भरुवा बन्दुक र दुई वटा डिजिटल तराजु बरामद गरेको थियो ।
त्यसपछि तामाङ सुत्ने कोठाको ओछ्यान नजिक पाँच वटा प्लास्टिकका बाल्टीमा राखिएको कालो लेदो पदार्थ फेला परेको र परीक्षणका क्रममा उक्त पदार्थ अफिम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार वीरबहादुर यसअघि पनि लागुऔषध मुद्दामा संलग्न रही फरार रहेका प्रतिवादी हुन् । उनलाई लागुऔषध तथा अवैध हातहतियार सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ । जिल्ला अदालत धादिङबाट म्याद थप गरी उनलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
यसैबीच प्रहरीले होवाङबाटै थप दुई थान भरुवा बन्दुकसहित २८ वर्षीय विराज तामाङ र सानोकान्छा तामाङलाई पनि पक्राउ गरेको छ । दुवै जनामाथि अवैध हातहतियार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

