नुवाकोटको ‘पृथ्वी सङ्ग्रहालय’ अब सञ्चालनको अन्तिम तयारीमा



नुवाकोट,जेठ २ । नुवाकोटको विदुर नगरपालिका–२ मा निर्माण सम्पन्न भएर पनि लामो समयदेखि सञ्चालनको अन्योलमा रहेको ‘पृथ्वी सङ्ग्रहालय’ अब भने नयाँ आशासहित पुनः चर्चामा आएको छ । पृथ्वीनारायण शाहको ऐतिहासिक विरासत बोकेको यस सङ्ग्रहालयलाई सञ्चालनमा ल्याउन विदुर नगरपालिकाले सक्रिय पहल थालेपछि स्थानीयवासीदेखि इतिहासप्रेमीसम्म उत्साहित बनेका हुन् ।

नगर प्रमुख राजन श्रेष्ठको नेतृत्वमा इतिहास, संस्कृति तथा पुरातात्विक क्षेत्रका विज्ञहरूसहित सरोकारवालाले सङ्ग्रहालयको स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् । निरीक्षण टोलीमा तारागाउँ सङ्ग्रहालयका निर्देशक रोशन मिश्र, सम्पदा संरक्षण अभियन्ता भरत महर्जन, संस्कृतिविद् रबी आचार्यलगायत स्थानीय व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

निर्माण सम्पन्न भए पनि सञ्चालनको स्पष्ट मोडालिटी नहुँदा सङ्ग्रहालय लामो समय निष्क्रियजस्तै बनेको थियो । तर अब विदुर नगरपालिकाको स्वामित्वमा आएपछि यसको व्यवस्थापन र सञ्चालन प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख श्रेष्ठका अनुसार सङ्ग्रहालयलाई केवल भवनमा सीमित नराखी इतिहास बोल्ने जीवित केन्द्रका रूपमा विकास गरिने तयारी गरिएको छ । तारागाउँ सङ्ग्रहालयसँग सहकार्य गर्दै ‘पृथ्वीनारायण शाह र नुवाकोट’सँग सम्बन्धित ऐतिहासिक सामग्री, नेपाल–भोट (तिब्बत) युद्धका दस्तावेज तथा ऐतिहासिक महत्वका सामग्री प्रदर्शनीमा समावेश गरिने योजना बनाइएको छ ।

सात रोपनी क्षेत्रफलमा फैलिएको उक्त सङ्ग्रहालय रु पाँच करोड २८ लाखको लगानीमा निर्माण गरिएको हो । सञ्चालनका क्रममा देखिएका व्यवस्थापकीय तथा प्राविधिक चुनौती समाधानतर्फ उन्मुख भएसँगै सङ्ग्रहालय अब अन्तिम तयारी चरणमा पुगेको जनाइएको छ ।

स्थानीय स्तरमा इतिहास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको पृथ्वी सङ्ग्रहालय सञ्चालनमा आएपछि नुवाकोटको ऐतिहासिक पहिचान थप उजागर हुने अपेक्षा गरिएको छ ।पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग प्रत्यक्ष जोडिएको नुवाकोट अब केवल इतिहासको स्मृतिमा मात्र सीमित नरही, नयाँ पुस्तालाई इतिहाससँग जोड्ने जीवित पाठशालाका रूपमा विकसित हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्