इँटा भट्टामा पुरिँदा तीन मजदुरको मृत्यु
सर्लाही, जेठ २ । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्बास्थित कृष्ण इँटा भट्टामा शुक्रबार साँझ माटो र इँटाले पुरिँदा तीन जना मजदुरको मृत्यु भएको छ ।
सर्लाहीकै कौडेना गाउँपालिका निवासी वीरेन्द्र चौधरीले सञ्चालन गरेको उक्त इँटा भट्टामा इँटा निकाल्ने क्रममा अचानक माटो र इँटाको ढिस्को खस्दा मजदुरहरू पुरिएका हुन् ।
मृत्यु हुनेमा गोडैता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताइ मन्सुर, वडा नम्बर ९ का ३५ वर्षीय शम्भु राउत तथा भारतको लखेमपुर निवासी ३५ वर्षीय अंगद कुमार रहेका छन् ।
घटनामा मलङ्गवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन् । घाइतेमध्ये तुलसीको प्रादेशिक अस्पताल मलङ्गवामा तथा सत्यनारायणको मजुर्बास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार घटनास्थलमा जेसिबी प्रयोग गरेर पुरिएको इँटा र माटो हटाउने काम जारी छ । इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ

