नुवाकोटको एसईई नतिजामा सुधार, ६३ प्रतिशत विद्यार्थी उत्तीर्ण



नुवाकोट,जेठ २ । नुवाकोटमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६३ दशमलव ४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्षको तुलनामा यस वर्ष जिल्लाको नतिजामा करिब चार प्रतिशतले सुधार आएको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ ।

गत चैतमा सम्पन्न परीक्षामा जिल्लाभरबाट नियमित र प्राविधिकतर्फ गरी तीन हजार ३ सय ५६ जना परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई हजार एक सय ३० जना विद्यार्थीको नतिजाले पूर्णता पाएको तथा एक हजार २ सय २६ जना विद्यार्थी अनुत्तीर्ण भएको कार्यालय प्रमुख रामचन्द्र इटनीले जानकारी दिनुभयो ।

यस वर्ष नुवाकोटमा ११ जना विद्यार्थीले चार जिपिए ल्याएका छन् । तीमध्ये विदुर नगरपालिका स्थित पृथ्वी माध्यमिक विद्यालयका मात्रै नौ जना विद्यार्थी रहेका छन् । बाँकी एक–एक जना विद्यार्थी सुभेनियर बोर्डिङ स्कुल र सूर्यज्योति बोर्डिङ स्कुलका रहेका छन् । गत वर्ष भने जिल्लामा चार जना विद्यार्थीले मात्रै चार जिपिए ल्याएका थिए ।

स्थानीय तहगत रूपमा हेर्दा विदुर नगरपालिकाको नतिजा सबैभन्दा उत्कृष्ट देखिएको छ । विदुरका ७ सय ५० जना अर्थात् ८२ दशमलव १५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । त्यसपछि लिखु गाउँपालिकाका ७८ दशमलव ५८ प्रतिशत, तादी गाउँपालिकाका ६४ दशमलव ०४ प्रतिशत, पञ्चकन्या गाउँपालिकाका ६४ प्रतिशत, ककनी गाउँपालिकाका ६२ दशमलव ५८ प्रतिशत तथा बेलकोटगढी नगरपालिकाका ६० दशमलव ०९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यसैगरी दुप्चेश्वर गाउँपालिकाका ५२ दशमलव ०२ प्रतिशत, सूर्यगढी गाउँपालिकाका ५६ दशमलव ४७ प्रतिशत, शिवपुरी गाउँपालिकाका ५२ दशमलव ३४ प्रतिशत, म्यागङ गाउँपालिकाका ४६ दशमलव ४५ प्रतिशत, तारकेश्वर गाउँपालिकाका ३४ दशमलव २८ प्रतिशत तथा किस्पाङ गाउँपालिकाका ३३ दशमलव १३ प्रतिशत विद्यार्थी ग्रेडेड भएका शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

जिल्लाका १२ स्थानीय तहका १९ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरिएको थियो । नुवाकोटका एक सय ४० भन्दा बढी विद्यालयका विद्यार्थी एसईईमा सहभागी भएका थिए । यस वर्ष अनुत्तीर्ण भएका तथा ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले आगामी असार १ गतेदेखि सञ्चालन हुने ग्रेडवृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुन पाउने भएका छन् । पूरक परीक्षा असार ९ गतेसम्म सञ्चालन हुने र त्यसका लागि विवरण सङ्कलनको काम भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्