मन्त्रालय हेरफेरपछि सिंहदरबारमा नयाँ नाम टाँस्ने चटारो



काठमाडौँ, जेठ २ । सरकारले मन्त्रालयको संख्या घटाएर नयाँ संरचना लागू गरेसँगै सिंहदरबारमा मन्त्रालयहरूको नाम परिवर्तन तथा व्यवस्थापनको काम तीव्र रूपमा अघि बढाइएको छ ।

सरकारले ‘नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३’ पारित गरी राजपत्रमा प्रकाशित गरेपछि मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गरिएको हो । त्यससँगै गाभिएका तथा नाम परिवर्तन भएका मन्त्रालयका पुराना बोर्ड हटाउने र नयाँ नाम राख्ने काम धमाधम भइरहेको छ ।

सरकारले कार्यविभाजन नियमावलीमार्फत साविकका आठ मन्त्रालयलाई यथावत् राखेको छ भने केही मन्त्रालयलाई एकआपसमा गाभेको छ । त्यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई नयाँ रूपमा स्थापना गरिएको छ ।

सिंहदरबारभित्र मन्त्रालयहरूको भवन व्यवस्थापनको काम चलिरहे पनि अधिकांश कार्यालयमा पुरानै फर्निचर, लेटरप्याड तथा प्रशासनिक सामग्री प्रयोग गरिँदै आएको छ । खर्च कटौती र व्यवस्थापन सहज बनाउन पुरानै सामग्रीलाई निरन्तरता दिइएको जनाइएको छ ।

मन्त्रालय पुनःसंरचनापछि साविकका युवा तथा खेलकुद मन्त्रालय, खानेपानी मन्त्रालय तथा सहरी विकास मन्त्रालयका भवन खाली भएका छन् । ती मन्त्रालयमध्ये केही अन्य मन्त्रालयमा गाभिएका छन् भने केहीको नाम परिवर्तन गरिएको छ ।

सरकारको नयाँ संरचनासँगै प्रशासनिक कामलाई थप प्रभावकारी, चुस्त र खर्चमा मितव्ययी बनाउने उद्देश्य राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्