पश्चिमी वायुको प्रभाव : विभिन्न प्रदेशमा वर्षा, चट्याङ र हावाहुरीको सम्भावना
काठमाडौं, जेठ २ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक बदली छ ।महाशाखाले गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी र कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको जनाएको छ ।
आज शनिबार दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहने अनुमान गरिएको छ । अन्य हिमाली, पहाडी तथा तराई क्षेत्रका भू–भागमा आंशिक बदली रहने मौसमविद्को भनाइ छ ।
पूर्वानुमानअनुसार कोशी प्रदेशका केही स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
यस्तै, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।आज राति पनि कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा रातिको समयमा पनि हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

