मन्त्रालय घटाउँदा २५ हजार कर्मचारी दरबन्दी कटौती
काठमाडौं, जेठ २ । सरकारले प्रशासनिक पुनर्संरचनाअन्तर्गत २२ मन्त्रालयलाई घटाएर १८ मा सीमित गर्ने निर्णयसँगै करिब २५ हजार कर्मचारी दरबन्दी कटौती हुने भएको छ ।
सरकारले अनावश्यक खर्च घटाउने उद्देश्यले करिब ५५० कार्यालय खारेज गर्ने तयारीसमेत गरेको छ । मन्त्रालय गाभिएपछि मन्त्री, सचिवालय, कर्मचारी तथा विभिन्न प्रशासनिक खर्च घट्ने जनाइएको छ ।
सरकारले शिक्षा तथा खेलकुद, महिला तथा सामाजिक सुरक्षा, पूर्वाधार विकासलगायत नयाँ संरचना बनाएको छ भने समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरेको जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अब कर्मचारी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) पछि दरबन्दी कटौतीको अन्तिम संख्या यकिन गरिनेछ ।

