काभ्रेपलाञ्चोकमा वर्षाले कृषिबालीमा करोडौँको क्षति
काभ्रेपलान्चोक,जेठ २ । काभ्रेपलाञ्चोकमा गत वैशाख १२ र १३ गते परेको अविरल वर्षाले दुई स्थानीय तहमा करोडौँ बराबरको कृषिबालीमा क्षति पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाले कृषि क्षेत्रमा पुगेको अनुमानित क्षतिको विवरण जिल्लास्थित कृषि विकास कार्यालयमा बुझाएका हुन् ।
कृषि कार्यालयका अनुसार बेथानचोक गाउँपालिका–१ मा ६०० रोपनी क्षेत्रफलमा लगाइएको करिब ८० मेट्रिकटन कृषिबाली नष्ट भएको छ । आलु, तोरी, सस्र्यु, केराउ, मकै, सुन्तला, बोधिचित्तका फूल तथा चिचिलालगायत बालीमा क्षति पुगेको जनाइएको छ । तरकारी तथा फलफूलका बिरुवासमेत नष्ट भएका छन् ।
गाउँपालिकाका अन्य वडामा पनि व्यापक क्षति पुगेको विवरणमा उल्लेख छ । वडा नं २ मा ४०० रोपनी, वडा नं ३ मा एक हजार २०० रोपनी, वडा नं ४ मा ६०० रोपनी, वडा नं ५ मा ५०० रोपनी र वडा नं ६ मा ३०० रोपनी क्षेत्रफलमा लगाइएको बाली प्रभावित भएको जनाइएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख दिपेन्द्र पन्तका अनुसार कागती, सुन्तला, बोधिचित्तका फूल तथा तरकारीबालीमा बढी क्षति पुगेको छ । गाउँपालिकामा मात्रै करिब ६५ लाख रुपैयाँ बराबरको उत्पादन नष्ट भएको अनुमान गरिएको छ ।
यता पनौती नगरपालिकाले भने सबैभन्दा बढी क्षति आलु खेतीमा भएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीका अनुसार ७५० हेक्टर क्षेत्रफलमा लगाइएको १० हजार ३०० मेट्रिकटन आलुमा आंशिक तथा पूर्ण क्षति पुगेको छ । आलुमा मात्रै करिब ४३ करोड २६ लाख रुपैयाँ बराबरको क्षति भएको नगरपालिकाको विवरणमा उल्लेख छ ।
त्यसैगरी ५०० वटा टनेलमा करिब २५ लाख रुपैयाँ, १० हेक्टरमा लगाइएको गोलभेँडामा एक करोड २५ लाख रुपैयाँ तथा १० हेक्टरमा लगाइएको काक्रामा एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । पनौती नगरपालिकाले कुल ४६ करोड रुपैयाँभन्दा बढीको कृषिबालीमा क्षति पुगेको दाबी गरेको छ ।
यसबीच धुलिखेल नगरपालिका–१० र १२ नम्बर वडामा भएको क्षतिको विवरण प्राप्त भएको तथा अन्य वडाको तथ्याङ्क आउन बाँकी रहेको कृषि कार्यालयले जनाएको छ । कार्यालय प्रमुख कुलप्रसाद दवाडीले प्रभावित कृषकलाई राहत उपलब्ध गराउन प्रदेश सरकारसँग समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि विसं २०८१ असोज १० देखि १२ गतेसम्मको वर्षाले पुर्याएको क्षतिको राहत वितरणको कामसमेत जारी छ ।
वर्षापछि सांसद मधुकुमार चौलागाईं, स्थानीय जनप्रतिनिधि तथा कृषि कार्यालयका प्राविधिकसहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गरेको थियो । टोलीले धुलिखेल र पनौतीका विभिन्न वडामा पुगेर आलु, तरकारी तथा फलफूलबालीमा पुगेको क्षतिको जानकारी लिएको थियो । सांसद चौलागाईंले क्षतिको एकीन विवरण आएपछि पीडित कृषकलाई भेदभावरहित राहत उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

