तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा



मुग्लिन (चितवन),जेठ २।  तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ । दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले नारायणगढ–मुग्लिन सडकखण्डमा ‘लिडार स्पिड गन’ प्रयोग गर्न थालेको छ । 

जोखिमपूर्ण मानिएको रामनगर–जुगेडी क्षेत्रको जङ्गल आसपासमा दैनिक रूपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने चालकलाई नियन्त्रणमा लिन थालेको छ । अधिकांश सडक दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएपछि आधुनिक प्रविधिको प्रयोग बढाइएको कार्यालय प्रमुख डिल्लीनारायण पाण्डेले बताउनुभयो । 

बर्खायामसँगै सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ । पहिलो दिनमै मापदण्ड विपरीत तीव्र गतिमा सवारीसाधन चलाउने ६० भन्दा बढी सवारीसाधनका चालकलाई कारबाही गरिएको प्रमुख पाण्डेले बताउनुभयो ।

कर्णाली प्रदेशका १० वटै जिल्लाका बढी दुर्घटना हुने सडक खण्डहरूमा पनि क्रमशः नियमित रूपमा यस्तो जाँच गरिने उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्