पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै विश्व शेयर बजारमा ठूलो गिरावट
काठमाडौँ, जेठ २ । विश्वभरका प्रमुख शेयर बजारमा शुक्रबार ठूलो गिरावट आएको छ । मध्यपूर्वमा जारी तनावका कारण पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्न थालेपछि लगानीकर्तामा आर्थिक चिन्ता बढ्दै जाँदा अमेरिकीसहित विश्वका मुख्य शेयर बजार दबाबमा परेका हुन् ।
विशेषगरी कृत्रिम बुद्धिमत्ता प्रविधिसँग सम्बन्धित कम्पनीहरूको शेयरमा तीव्र गिरावट आएपछि बजारमा व्यापक असर परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । अमेरिकाका पाँच सय ठूला कम्पनी समेटिएको प्रमुख सूचकाङ्क अघिल्लो दिन कायम भएको ऐतिहासिक उच्च बिन्दुबाट करिब १ दशमलव २ प्रतिशतले घटेको छ ।
त्यस्तै अमेरिकी औद्योगिक सूचकाङ्क ५ सय ३७ अंकले ओरालो लागेको छ भने प्रविधि क्षेत्र केन्द्रित अर्को प्रमुख सूचकाङ्क करिब १ दशमलव ५ प्रतिशतले घटेको बताइएको छ । पछिल्ला महिनाहरूमा कृत्रिम बुद्धिमत्ता प्रविधिप्रति बढेको उत्साहका कारण तीव्र उकालो लागेको प्रविधि कम्पनीहरूको शेयरमा अचानक गिरावट आएपछि बजार अस्थिर बनेको हो ।
कृत्रिम बुद्धिमत्ता क्षेत्रका प्रमुख चिप उत्पादक कम्पनीको शेयर मात्रै ४ दशमलव ४ प्रतिशतले घटेको छ । यद्यपि यस वर्ष हालसम्म उक्त कम्पनीको शेयर मूल्य २६ प्रतिशतभन्दा बढीले बढिसकेको थियो । त्यस्तै अर्को प्रविधि कम्पनीको शेयर ६ दशमलव ६ प्रतिशतले घटेको छ, यद्यपि यस वर्ष कम्पनीको शेयर मूल्य अझै पनि करिब १ सय ५४ प्रतिशतले माथि रहेको बताइएको छ ।
विश्लेषकहरूले बजार अत्यधिक बढेको अवस्थामा पुगेकाले केही समयको गिरावट स्वाभाविक भएको बताएका छन् । बलियो अमेरिकी अर्थतन्त्र र कम्पनीहरूको राम्रो आम्दानीले बजारलाई उच्च विन्दुसम्म पुर्याए पनि आगामी दिन सहज नहुने चेतावनी दिइएको छ ।
यसबीच मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । विशेषगरी इरानसँगको द्वन्द्व लम्बिँदै जाँदा विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग प्रभावित बनेको छ । तेल बोकेका जहाजहरूको आवतजावत प्रभावित हुँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल आपूर्तिमा दबाब परेको र त्यसले महँगीको जोखिम थप बढाएको विश्लेषण गरिएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता बढेको र त्यसको प्रत्यक्ष असर शेयर बजारमा देखिएको जनाइएको छ ।

