सञ्चार मन्त्रालयको विषयगत समितिमा नुवाकोट पञ्चकन्याका अध्यक्ष तेजबहादुर तामाङ मनोनित



नुवाकोट, जेठ १२ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङलाई सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको विषयगत समितिको सदस्य पदमा मनोनयन गरिएको छ ।

संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ अनुसार गठित समितिमा देशभरका ७५३ स्थानीय तहमध्येबाट पञ्चकन्या गाउँपालिकाका अध्यक्षलाई योग्य ठहर गर्दै सदस्यमा मनोनयन गरिएको हो ।

मन्त्रालयको च. नं. प्रेस/२७३६ मिति २०८३ जेठ ११ गतेको पत्रअनुसार मिति २०८३ जेठ ५ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त मनोनयन गरिएको जनाइएको छ । ऐनको दफा २२ उपदफा (१) बमोजिम गठित समितिमा सूचना तथा सञ्चार मन्त्री अध्यक्ष रहने तथा अध्यक्षले तोकेको एक जना स्थानीय तह प्रमुख वा अध्यक्ष सदस्य रहने व्यवस्था छ ।

मनोनयनपछि अध्यक्षले आफूलाई दिइएको जिम्मेवारी नेपालको संविधान र प्रचलित कानुनको अधीनमा रही देश र जनताको हितमा पूर्ण इमान्दारिता र प्रतिबद्धताका साथ निर्वाह गर्ने बताएका छन् । उहाँले व्यक्तिगत तथा पञ्चकन्या गाउँपालिका परिवारको तर्फबाट सूचना तथा सञ्चार मन्त्रीसहित सम्पूर्ण मन्त्रालय परिवारप्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्