सुशासन र समृद्धिमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री वालेन्द्र शाह
काठमाडौं,जेठ १२ । वालेन्द्र शाह ले नेपाली नागरिकको दैनिक जीवनस्तर वास्तविक रूपमा उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली सङ्घ (इयू) तथा सदस्य राष्ट्रका राजदूतहरू, साथै काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान परिस्थितिको गम्भीरता र आफूहरूलाई सुम्पिएको जिम्मेवारीप्रति सरकार पूर्ण रूपमा सचेत रहेको बताउनुभयो ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका पक्षमा स्पष्ट जनादेश दिएको उल्लेख गर्दै नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पार्नुभयो ।
उहाँले “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन” भन्दै नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य बनाइने तथा लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरतामा सरकार दृढ रहेको बताउनुभयो ।
प्रधानमन्त्री शाहले सुशासन र समावेशी आर्थिक वृद्धिलाई सरकारको मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै जनताका लागि नयाँ अवसर सिर्जना गर्न विश्व बजारसँग जोडिने, लगानीमैत्री वातावरण बनाइने, प्रक्रियालाई थप सहज बनाइने र नवप्रवर्तनलाई प्रोत्साहन गरिने बताउनुभयो ।
नेपालले सन्तुलित र व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने स्पष्ट पार्दै उहाँले छिमेकी मुलुक, विकास साझेदार र मित्र राष्ट्रसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका सिद्धान्तमा आधारित रहने बताउनुभयो ।
प्रधानमन्त्री शाहले नेपालको विकास र समृद्धिमा निरन्तर सहयोग पुर्याउँदै आएका विकास साझेदार तथा मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै व्यापार, लगानी, हरित ऊर्जा, जलवायु परिवर्तन र पर्यटनलगायत क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको उल्लेख गर्नुभयो ।
विश्वका विभिन्न भूभागमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री शाहले सर्वसाधारण नागरिकले सबैभन्दा बढी पीडा भोग्नुपरेको बताउनुभयो । उहाँले शान्ति स्थापनाका लागि सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तरराष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
भेटका क्रममा युरोपेली सङ्घ तथा सदस्य राष्ट्रका राजदूतहरूले नेपालले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको भन्दै प्रशंसा गरेका थिए । उनीहरूले सुशासन, आर्थिक विकास र समृद्धिको जनादेशसहित सरकारको नेतृत्व सम्हालेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिँदै विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य र लगानी विस्तार गर्न आफूहरू तयार रहेको बताएका थिए ।

