देशभर मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा हावाहुरीको जोखिम
काठमाडौँ,जेठ १२ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षा तथा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।
मङ्गलबार राति सातै प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी भूभागका थोरै स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।
यस्तै बुधबार पनि देशभरका विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने अनुमान गरिएको छ भने मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा अपराह्नपछि हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ ।
महाशाखाले बिहीबार पनि मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

