“ह्वीलचियरले फेरियो सहजता” — अशक्त नागरिकको सहारामा विदुर नगरपालिका



नुवाकोट,जेठ १३ । नुवाकोटको विदुर नगरपालिका–८ का महेन्द्रकुमार रिमाल लामो समयदेखि पक्षघात र स्पाइनल समस्याबाट पीडित हुनुहुन्छ । शारीरिक अवस्था कमजोर बन्दै गएपछि उहाँलाई सामान्य हिँडडुल गर्नसमेत कठिन हुँदै आएको थियो । दैनिक जीवनका सामान्य काम गर्न अरूको सहारामा निर्भर हुनुपर्ने बाध्यता थियो ।

यही कठिनाइलाई केही सहज बनाउने प्रयासस्वरूप विदुर नगरपालिकाले रिमाललाई कम्बोडसहितको आधुनिक ह्वीलचियर उपलब्ध गराएको छ । नगरप्रमुख राजन श्रेष्ठ ले वडा नम्बर ८ का वडासदस्य जयराम खड्कामार्फत उक्त सामग्री मंगलबार हस्तान्तरण गर्नुभएको हो ।

नगरपालिकाले उपलब्ध गराएको आधुनिक ह्वीलचियरले रिमालको आवतजावत मात्र होइन, शौचालय प्रयोगजस्ता दैनिक आवश्यक काममा पनि सहजता ल्याउने विश्वास गरिएको छ । परिवारका सदस्यका अनुसार यसअघि सामान्य गतिविधि गर्नसमेत कठिन हुने गरेकामा अब केही राहत मिल्ने अपेक्षा गरिएको छ ।

विदुर नगरपालिकाले पछिल्लो समय स्वास्थ्य समस्या, अशक्तता तथा बुढ्यौलीका कारण हिँडडुल गर्न असमर्थ नगरवासीलाई आवश्यकताअनुसार स्वास्थ्य सहायता सामग्री उपलब्ध गराउँदै आएको छ । विशेषगरी ज्येष्ठ नागरिक, शारीरिक रूपमा पूर्ण अशक्त तथा गम्भीर स्वास्थ्य समस्याबाट पीडित व्यक्तिलाई लक्षित गरी यस्ता सहयोग कार्यक्रम सञ्चालन भइरहेका छन् ।

नगरप्रमुख श्रेष्ठले अत्यावश्यक अवस्थामा रहेका नागरिकलाई नगरपालिकाले उपलब्ध गराउने यस्ता सेवा तथा सहायता सामग्रीको लाभ लिन आग्रह गर्नुभएको छ । उहाँले स्थानीय सरकार नागरिकको दैनिक जीवन सहज बनाउन सधैं प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्