गङ्गादशहरा मेला सुरु, भक्तजनको घुइँचो



कैलाली,जेठ १३ । सुदूरपश्चिमको धार्मिक एवं ऐतिहासिक महत्व बोकेको बेहडाबाबा मन्दिर क्षेत्रमा आजदेखि गङ्गादशहरा मेला सुरु भएको छ । बेहडाबाबा मन्दिर मा सुरु भएको मेलामा बिहानैदेखि भक्तजनहरुको घुइँचो लाग्न थालेको छ ।

धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा क्षेत्रमा परम्पराअनुसार आज राति १२ बजे जल चढाएर पूजाअर्चना गर्दै मेलाको शुभारम्भ गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले जानकारी दिनुभयो ।

मन्दिरमा पूजाआजा तथा दर्शनका लागि कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिमका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत श्रद्धालुहरु आउने परम्परा रहेको आयोजकले जनाएको छ ।

परापूर्वकालमा उक्त स्थानमा शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको धार्मिक विश्वास रहिआएको छ । बेहडाबाबा मन्दिरको दर्शन गरे मनोकामना पूरा हुने, पुत्रलाभदेखि विभिन्न सङ्कटबाट मुक्ति मिल्ने जनविश्वास भक्तजनहरुमा रहेको छ ।

मेलालाई व्यवस्थित बनाउन सडक मर्मत, बत्ती जडान तथा अन्य आधारभूत व्यवस्थापनका काम गरिएको व्यवस्थापन समितिले जनाएको छ । भक्तजनहरुको सहज यात्राका लागि निःशुल्क बस सेवा समेत सञ्चालन गरिएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल ले गङ्गादशहरालाई यहाँको महत्वपूर्ण धार्मिक पर्वका रुपमा लिइने बताउँदै मेलाका अवसरमा सार्वजनिक बिदासमेत दिइएको जानकारी दिनुभयो । आजदेखि सुरु भएको गङ्गादशहरा मेला जेठ १५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्