राष्ट्रिय सभा विधेयकविहीन, विधायन गतिविधि ठप्प
काठमाडौँ, जेठ १३। सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा यतिबेला विधेयकको पर्खाइमा रहेको छ । पछिल्लो पटक जेठ ८ गते अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ र सरकारको नीति तथा कार्यक्रम पारित गरेपछि राष्ट्रिय सभामा नयाँ विधेयक दर्ता भएको छैन ।
राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले जेठ १३ गते बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकमा सरकारलाई राष्ट्रिय सभाको ‘बिजनेस’ बारे जानकारी गराइने बताउनुभएको छ । विधायन व्यवस्थापन समितिका सचिव झलक शर्मा सापकोटाले समितिमा हाल कुनै विधेयक विचाराधीन नरहेको जानकारी दिनुभयो ।
प्रतिनिधि सभाबाट पारित वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ भने अब राष्ट्रिय सभामा प्रस्तुत हुने तयारीमा छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक जेठ १३ गते राष्ट्रिय सभामा प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । राष्ट्रिय सभाले उक्त विधेयक १५ दिनभित्र पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाउनुपर्ने व्यवस्था छ ।

