देशभर १३ अर्बका ६२ अलपत्र ठेक्का सम्झौता रद्द
काठमाडौँ,कात्तिक १७ । सरकारले देशभर अलपत्र अवस्थामा रहेका करिब १३ अर्ब रुपैयाँ बराबरका ६२ वटा ठेक्का सम्झौता पछिल्लो सात महिनामा रद्द गरेको छ । काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीमाथि कारबाही गर्दै सरकारले नयाँ प्रक्रियाबाट आयोजना अघि बढाउने तयारी गरेको हो ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालको कार्यभार सम्हालेयता ठेक्का रद्दसँगै निर्माण व्यवसायीबाट लिइएको पेस्की रकम असुल तथा कार्यसम्पादन जमानत जफत गर्ने प्रक्रिया अघि बढाइएको सडक विभागले जनाएको छ ।
ठेक्का तोडिएका आयोजनाको बाँकी काम नयाँ बोलपत्रमार्फत सम्पन्न गरिनेछ । यद्यपि, नेपाल निर्माण व्यवसायी महासंघले राज्यकै कारण अलपत्र बनेका आयोजनाको ठेक्का एकतर्फी रूपमा तोडिएको आरोप लगाएको छ ।
यसैबीच, पूर्वाधार विकास मन्त्रालयले देशभरका सबै रुग्ण ठेक्का अन्त्य गरी नयाँ प्रक्रियाबाट अघि बढाउन सडक विभागलाई निर्देशन दिएको छ ।

