पञ्चकन्याका पहिरो पीडितलाई नगद र ग्यास सिलिन्डर सहयोग
नुवाकोट,कात्तिक १७ । अविरल वर्षाका कारण आएको पहिरोबाट प्रभावित नुवाकोटको पूर्वी भेगस्थित पञ्चकन्या गाउँपालिकाका पीडित परिवारलाई नगद तथा इन्धन सहयोग प्रदान गरिएको छ । विभिन्न सहयोगी संस्था, शिक्षक, स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीबाट संकलित रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
आधारशिला सामाजिक उद्यमी महिला सहकारी लिमिटेडका सञ्चालक सदस्यहरूको तर्फबाट १५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । त्यसैगरी, पञ्चकन्या माध्यमिक विद्यालयका बाल क्लब तथा शिक्षकहरूबाट १७ हजार ६ सय ९१ रुपैयाँ र भद्रुटारका स्वास्थ्य स्वयंसेविकाहरूबाट १८ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।
प्राप्त सहयोग रकम गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ ‘रमेश’मार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विमला पाठक केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
यसैबीच, गत भदौ ४ र ५ गतेको अविरल वर्षाका कारण विस्थापित परिवारलाई पूर्वमन्त्री हितबहादुर तामाङको पहलमा ग्यास सिलिन्डर वितरण गरिएको छ । पहिरोबाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले इन्धन वितरण गरिएको हो ।
ग्यास वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विमला पाठक केसी, वडा नं. ३ का अध्यक्ष रामबाबु पराजुली तथा स्थानीयवासीको उपस्थिति रहेको थियो । पहिरो प्रभावित परिवारका लागि राहत तथा सहयोग प्राप्त हुने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ ।

