सुधारिँदो अर्थतन्त्रको संकेत : ३.८५ प्रतिशत आर्थिक वृद्धि, रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा ऐतिहासिक उछाल
काठमाडौँ, जेठ १३। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सङ्घीय संसद्मा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै नेपालको समष्टिगत आर्थिक सूचकमा सुधार देखिएको बताउनुभएको छ । विश्व अर्थतन्त्रमा अनिश्चितता र क्षेत्रीय द्वन्द्व कायम रहे पनि नेपालको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको उहाँको भनाइ छ ।
आर्थिक सर्वेक्षणअनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण भइरहेका बेला नेपालको वृद्धिदरलाई सकारात्मक मानिएको छ । मुलुकको कुल अर्थतन्त्र ६६ खर्ब रुपियाँ पुग्ने र प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
सर्वेक्षणले कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहने देखाएको छ । प्रदेशगत रूपमा बागमती प्रदेश र गण्डकी प्रदेश को आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने अनुमान गरिएको छ । बागमती प्रदेशले मात्र कुल गार्हस्थ्य उत्पादनमा ३६.७ प्रतिशत योगदान पुर्याएको उल्लेख गरिएको छ ।
यद्यपि, प्रमुख खाद्यान्न बाली धान उत्पादनमा ४.२० प्रतिशतले गिरावट आई ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको सर्वेक्षणले देखाएको छ । अर्थमन्त्री वाग्लेले चालू आर्थिक वर्षको फागुनसम्म सङ्घीय राजस्व ३.२ प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो । सरकारी खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत खर्चमा अपेक्षित सुधार हुन नसकेको उल्लेख गरिएको छ । कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपियाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत हो । चालू वर्षमा सरकारले ३ खर्ब रुपियाँ सार्वजनिक ऋण परिचालन गरेको छ ।
बाह्य क्षेत्रतर्फ भने उल्लेखनीय सुधार देखिएको छ । विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब रुपियाँ पुगेको छ भने विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपियाँ पुगेको छ । यो सञ्चितिले १८.५ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने जनाइएको छ । तर व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब रुपियाँ पुगेको सर्वेक्षणमा उल्लेख छ ।
प्रविधिमैत्री भुक्तानी प्रणालीतर्फ पनि प्रगति देखिएको छ । फागुनसम्म क्यूआर कोडमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब रुपियाँ नाघेको छ । साथै, सन् २०२५ को सार्वभौम क्रेडिट रेटिङमा नेपालले ‘बीबी–’ स्टेबल आउटलुक प्राप्त गरेको उल्लेख गर्दै सरकारले यसलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख सुधारको सङ्केतका रूपमा व्याख्या गरेको छ । औसत मुद्रास्फीति २.१३ प्रतिशतमा सीमित रहेको पनि सर्वेक्षणमा उल्लेख गरिएको छ ।
मानव विकासका सूचकमा समेत सुधार देखिएको छ । मानव विकास सूचकाङ्क ०.६२२ पुगेको छ भने नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ । मातृ मृत्युदर प्रतिलाख १५१ र पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ३३ मा झरेको जनाइएको छ । शिक्षातर्फ आधारभूत तहको खुद भर्नादर ९७.८ प्रतिशत पुगेको छ भने स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा कोषमा नागरिकको आबद्धता बढ्दो क्रममा रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

