चीनमाथि नेपालको शानदार जित, एसियाली खेलकुद छनोटमा सुखद सुरुआत
काठमाडौं,जेठ १३ । महिला क्रिकेटतर्फ एसियाली खेलकुद छनोट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । मलेसियामा जारी प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १२५ रन बनाएको थियो । नेपालको जितमा पूजा महतोले उत्कृष्ट अर्धशतकीय इनिङ खेल्नुभयो । उहाँले ५७ बलमा ६ चौकाको सहयोगमा ६३ रन जोड्नुभयो । रुबी पोदार २२ रनमा अविजित रहँदा सोनी पाख्रिनले १८ रन बनाउनुभयो ।
चीनका लागि मा रुइकेले दुई विकेट लिनुभयो भने वाङ हुईइङ र ली ली च्याफिङले समान एक–एक विकेट हात पार्नुभयो । १२६ रनको लक्ष्य पछ्याएको चीनले पूरा २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १०६ रन मात्रै बनाउन सक्यो । चीनकी कप्तान जु मिजुले सर्वाधिक ३० रन जोड्नुभयो भने वाङ हुइवाङले २१ रन बनाउनुभयो ।
नेपालका लागि रिया शर्माले दुई विकेट लिनुभयो । पूजा महतो, मनिषा उपाध्याय र कविता कुँवरले समान एक–एक विकेट हात पार्दै चीनलाई दबाबमा राख्नुभयो ।
एसिया छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा जित निकाल्दै दुई अंक जोडेको छ । यही समूहमा चीन र इन्डोनेसिया रहेका छन् । नेपालले अब बिहीबार इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड रहेका छन् ।
प्रतियोगिताको शीर्ष तीन टोली एसियाली खेलकुदका लागि छनोट हुने व्यवस्था रहेको छ ।

