पूर्वाधारमा प्रगति, सडक सञ्जाल ३६ हजार किलोमिटर नाघ्यो
काठमाडौँ, जेठ १३ । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक पूर्वाधार, यातायात तथा सञ्चार क्षेत्रमा पछिल्ला वर्षमा उल्लेख्य प्रगति भएको देखिएको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सडक सञ्जाल विस्तार, राष्ट्रिय गौरवका आयोजना तथा डिजिटल पहुँचमा सुधार देखिएको हो ।
सर्वेक्षणअनुसार सङ्घीय सरकारबाट निर्मित कालोपत्रे सडकको घनत्व १३८.७ मिटर प्रति वर्ग किलोमिटर पुगेको छ । डिजिटल टेलिभिजनको पहुँच ८२ प्रतिशत घरधुरीसम्म पुगेको छ भने मोबाइल टेलिफोन ग्राहकको घनत्व जनसङ्ख्याको १०३.२ प्रतिशत पुगेको उल्लेख गरिएको छ ।
विसं २०८२ फागुनसम्म रणनीतिक तथा स्थानीय सडक सञ्जाल गरी कुल ३६ हजार ८०६ किलोमिटर सडक निर्माण भएको छ । यसमध्ये २० हजार ४५६ किलोमिटर कालोपत्रे, सात हजार ६०२ किलोमिटर ग्राभेल तथा आठ हजार ७४८ किलोमिटर कच्ची सडक रहेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल सडक लम्बाइ ३६ हजार २२६ किलोमिटर थियो ।
आर्थिक वर्ष २०८१/८२ मा ३०१ किलोमिटर नयाँ कच्ची सडक निर्माण भएको थियो भने एक हजार २३५ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति गरिएको थियो । चालु आर्थिक वर्षको फागुनसम्म ७६ किलोमिटर नयाँ सडक निर्माण, ४१३ किलोमिटर सडक कालोपत्रे स्तरोन्नति तथा १०२ पुल निर्माण सम्पन्न भएका छन् ।
राष्ट्रिय गौरवका आयोजनामध्ये मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा एक हजार ८७९ किलोमिटरमध्ये एक हजार ५२९ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ भने १३७ पुलमध्ये ११४ पुल निर्माण सम्पन्न भएका छन् ।
हुलाकी लोकमार्गअन्तर्गत एक हजार ८५७ किलोमिटर सडक लम्बाइमध्ये एक हजार ३८१ किलोमिटर सडक कालोपत्रे भएको छ । यस मार्गमा २५० पुलमध्ये १४३ पुल निर्माण सम्पन्न भएको सर्वेक्षणमा उल्लेख छ ।
उत्तर–दक्षिण लोकमार्गअन्तर्गत कालीगण्डकी कोरिडोरमा २९२ किलोमिटर सडक कालोपत्रे भएको छ भने ३६ पुल निर्माण सम्पन्न भएका छन् । कर्णाली कोरिडोरमा सम्पूर्ण ट्रयाक निर्माण सम्पन्न भइसकेको छ र हालसम्म ४१.५ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ ।
कोशी कोरिडोरमा थप १४ किलोमिटर सडक कालोपत्रे तथा ११ पुल निर्माण सम्पन्न भएका छन् । मदन भण्डारी राजमार्गमा ७४० किलोमिटरमध्ये ३९५.५ किलोमिटर सडक कालोपत्रे भएको छ ।
ठूला सडक आयोजनाअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डमा ९५.५ किलोमिटर चार लेन सडक निर्माण सम्पन्न भएको छ भने मुग्लिन–पोखरा सडकमा ७८.४ किलोमिटर चार लेन सडकमा पहिलो तहको कालोपत्रे सम्पन्न भएको छ ।
सुरुङमार्ग निर्माणतर्फ सिद्धबाबा सुरुङमार्गमा मुख्य सुरुङको एक हजार १२६ मिटर कङ्क्रिट लाइनिङको काम सम्पन्न भएको छ । नागढुङ्गा सुरुङमार्गमा टनेल संरचना निर्माण पूरा भइसकेको छ भने प्रकाश, भेन्टिलेसन, अग्नि नियन्त्रण तथा सूचना प्रणाली जडानसम्बन्धी कामसमेत सम्पन्न भएको छ ।
काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत निर्माणाधीन सातवटै सुरुङको काम जारी रहेको छ । यस आयोजनामा पुल निर्माणतर्फ पनि विभिन्न चरणका संरचना निर्माण भइरहेको आर्थिक सर्वेक्षणले जनाएको छ ।
यद्यपि, पूर्वाधार निर्माणको विस्तारसँगै सडकको गुणस्तर, समयमै आयोजना सम्पन्न गर्ने क्षमता, सडक सुरक्षा तथा दीर्घकालीन दिगोपनामा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।

