बकर इद आज देशभर मनाइँदै
काठमाडौँ,जेठ १४। मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै छ । पर्वका अवसरमा देशभरका मस्जिद र इदगाहमा बिहानैदेखि मुस्लिम समुदायको उल्लेख्य उपस्थिति देखिएको छ ।
धार्मिक परम्पराअनुसार इदुल फित्रको करिब ७० दिनपछि मनाइने बकर इदमा मुस्लिम धर्मावलम्बीले स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा पुगेर सामूहिक नमाज अदा गर्ने गर्दछन् । नमाजपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ ।
काठमाडौँको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिदमा आज बिहानैदेखि भक्तजनको भीड लागेको थियो । मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीका अनुसार अल्लाहको आदेश पालना गर्दै इब्राहिमले आफ्ना छोरा इस्माइललाई कुर्बानी दिन तयार भएको घटनाको सम्झनामा यो पर्व मनाउने परम्परा सुरु भएको हो ।
मुस्लिम धर्मगुरु मौलाना रहमत अलीले पैगम्बर मोहम्मदले यस पर्वलाई धार्मिक तथा सांस्कृतिक रूपमा निरन्तरता दिएको बताउनुभयो । उहाँका अनुसार मक्का र मदिना मुस्लिम समुदायका प्रमुख तीर्थस्थल भएकाले बकर इदका अवसरमा त्यहाँ विशेष धार्मिक गतिविधि हुने गर्दछ ।
बकर इदको मुख्य विशेषता कुर्बानी हो । धार्मिक मान्यताअनुसार अल्लाहलाई खुसी पार्न जायज मानिएका जनावरको कुर्बानी दिने प्रचलन छ । कुर्बानीको मासु तीन भागमा बाँडेर गरिब तथा विपन्न परिवार, आफन्त तथा इष्टमित्र र आफ्नै परिवारबीच वितरण गर्ने परम्परा रहेको छ ।
मुस्लिम समुदायले आजदेखि तीन दिनसम्म बकर इद मनाउने जनाइएको छ । नेपाली जामे मस्जिदका अनुसार तीनै दिन कुर्बानी दिने धार्मिक विधि रहेको छ । पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

