फ्रान्स आर्मीको सपना, रसियन युद्धमा नुवाकोटका युवाको मृत्यु



• भरतसन्तोषी लामा

पदक जित्ने धावकदेखि युद्धको धुवाँमा हराएका दिनेश राई

नुवाकोट,जेठ १४ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ आँपचौरमा बुधबार बिहानदेखि अस्वाभाविक सन्नाटा थियो।

गाउँका घर–आँगनमा मान्छेहरूको आवतजावत बढेको थियो, तर त्यो भीड कुनै उत्सवका लागि होइन, एक अधुरो विदाइका लागि जम्मा भएको थियो।

आँगनको बीचमा दिनेश राईको एउटा तस्वीर राखिएको थियो। तस्वीर वरिपरि धूप बलेका थिए, मलामीहरू मौन उभिएका थिए ।परिवारजनका आँखा रसाइरहेका थिए। तर, त्यहाँ एउटा कुरा थिएन—दिनेशको पार्थिव शरीर।

२३ वर्षीय दिनेश, जो केही वर्षअघिसम्म दौड मैदानमा पदक जित्दा गाउँ गर्वले फुल्थ्यो, आज सम्झनामा मात्रै बाँकी छन्। उनको अन्तिम संस्कार भयो, तर परिवारले छोराको अनुहार अन्तिम पटक हेर्नसमेत पाएन।

दिनेश बागमती प्रदेशस्तरीय एथलेटिक्स खेलाडी थिए। उनी दौडमा तीव्र थिए, सपनामा अझ तीव्र। गाउँका साथीहरू सम्झिन्छन्—“दिनेश सधैं आर्मीमा जाने कुरा गर्थे। बिहानै दौडिन निस्किन्थे, शरीर फिट राख्थे, अनुशासनमा बस्न रुचाउँथे।”

सानैदेखि उनको सपना थियो—ब्रिटिस आर्मीमा भर्ती हुने। त्यही सपना पछ्याउँदै उनी युवावस्थाको एउटा मोडमा पुगे, जहाँबाट उनको जीवन युद्धतर्फ मोडियो।

बुबा रामजी राईका अनुसार, कक्षा १२ पढ्दै गर्दा सन २०२३ मा केही व्यक्तिले “फ्रान्स आर्मीमा लैजान्छौँ” भनेर दिनेशलाई विदेश लगे।परिवार गरिब थियो, तर छोराको भविष्यप्रति आशावादी।विदेश गएपछि जीवन बदलिन्छ भन्ने विश्वास उनीहरूमा पनि थियो। “हामीले छोराको भविष्य राम्रो होला भनेर पठायौँ,” रामजीले साझापथसँग कुरा गर्दै भक्कानिँदै भन्नुभयो, “तर कहाँ पुर्‍याइयो, हामीलाई केही थाहा भएन।”

सुरुमा परिवारलाई दिनेश फ्रान्स पुगेको भनियो। केही महिनापछि मात्रै उनी रुस पुगेको जानकारी आयो। त्यसपछि उनको सम्पर्क क्रमशः टुट्न थाल्यो। फोन कम आउन थाल्यो। सन्देश हराउँदै गए। र, एकदिन सम्पर्क पूर्ण रूपमा बन्द भयो।

त्यसपछि एउटा बुबाको बेचैनी सुरु भयो। रामजी राई आफैँ छोराको खोजीमा रुस पुगे। २०२५ को अन्त्यतिर उनी त्यहाँ पुगेका थिए। त्यहाँ पुग्नु अघि र पुगेपछिको दुख भनिसाध्य छैन । भाषा नबुझिने देश, अपरिचित सडक र सैनिक क्याम्पहरूबीच उनले महिनौँ छोरा खोजिरहे।

“हरेक क्याम्पमा गएँ, नेपालीहरूको सूची खोजेँ, कसैसँग विन्ती गरेँ,” उनले पीडा सुनाए, “तर कतैबाट स्पष्ट उत्तर आएन।”पाँच महिना रुसमा बित्यो।

आशा र निराशाबीच झुलिरहेका रामजीले अन्ततः सबैभन्दा क्रूर सत्य सुन्नुपर्‍यो—उनका छोरा दिनेश अब जीवित थिएनन्। गत फेब्रुअरी २४ तारिखमा युद्धका क्रममा दिनेशको मृत्यु भएको जानकारी उनलाई दिइयो। त्यो क्षणपछि उनीभित्रको बुबा भत्कियो।

“म छोरा लिएर फर्किन्छु भन्ने सोचेर गएको थिएँ,” उनी भन्छन्, “तर रित्तो हात फर्किनुपर्‍यो।” मे २४ मा नेपाल फर्किएका रामजीको अनुहारमा थकान मात्रै छैन, एउटा पराजित बुबाको असहायपन पनि देखिन्छ। घर फर्किएपछि गाउँको वातावरण झन् भारी बन्यो। दिनेशकी आमा अलैंची राई छिनछिनमै भक्कानिन्छिन्। घरभित्र छोराको फोटो हेर्दै उनी कहिलेकाहीँ चुपचाप बसिरहन्छिन्, कहिलेकाहीँ रुँदै भित्र पस्छिन्।

भाइ–बहिनी अझै विश्वास गर्न सकिरहेका छैनन् कि उनीहरुको दाई अब कहिल्यै फर्किने छैनन्। गाउँका साथीहरू दिनेशलाई सम्झिरहेका छन्—कोही उनको दौड सम्झिन्छ, कोही हाँसो। सामाजिक सञ्जालमा श्रद्धाञ्जलीका शब्दहरू लेखिएका छन्। तर, ती शब्दहरूले एउटा परिवारको खालीपन भर्न सक्दैनन्।

बुधबार गाउँमा परम्पराअनुसार अन्तिम संस्कार गरियो। पार्थिव शरीर नभए पनि संस्कार पूरा गरियो। मलामी बनेर आएका गाउँलेहरू मौन थिए। कसैले धेरै बोलेनन्।

तर, सबैका मनमा एउटै प्रश्न थियो—विदेशी सेनामा भर्ती गराउने सपना देखाएर अझै कति नेपाली युवालाई युद्धको आगोमा धकेलिने हो?दिनेशको कथा एउटा व्यक्तिको मात्रै कथा होइन। यो बेरोजगारी, विदेशी मोह, दलालको जाल र युद्धको क्रूरताबीच हराइरहेका नेपाली युवाहरूको कथा हो।

एक युवा धावक, जसले जीवनको ट्र्याकमा देशका लागि दौडने सपना देखेको थियो, अन्ततः अर्कै देशको युद्धमा हरायो। आँपचौरको त्यो दौडने केटो अब फर्किने छैन। तर, उसको अधुरो सपना र परिवारको आँसु भने गाउँको हावामा अझै बाँचिरहनेछन्।

प्रतिक्रिया दिनुहोस्