गणतन्त्र दिवसको अवसरमा ‘नुवाकोट रिभरसाइड पार्क’मा वृक्षारोपण
नुवाकोट, जेठ १४ । गणतन्त्र दिवसको अवसर पारेर विदुर नगरपालिका–१० भैसेँस्थित ‘नुवाकोट रिभरसाइड पार्क’मा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । पर्यापर्यटन पार्कको रूपमा विकास गरिएको उक्त क्षेत्रमा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न जातका फूल तथा फलफूलका विरुवा रोपिएको हो ।
विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्कलाई आकर्षक र हरियालीयुक्त बनाउने लक्ष्यसहित कल्किफुल, सिता अशोका, ज्याकरण्ड, कपुर, हाईव्रिड गुल्मोहरलगायतका विरुवा रोपिएको जनाइएको छ ।
कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, वडा नं १० का अध्यक्ष गणेशकुमार नेपाल, पार्क व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, स्थानीयवासी, डिभिजन वन कार्यालय नुवाकोट र भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
स्थानीय तह, वन कार्यालय तथा सरोकारवाला निकायको सहकार्यमा सञ्चालन गरिएको वृक्षारोपण कार्यक्रमले पर्यावरण संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

