दक्षिण एसियामा वनक्षेत्रमा नेपाल दोस्रो, ४६ प्रतिशत भूभाग हरियालीले ढाकियो
काठमाडौँ,जेठ १४ । दक्षिण एसियाली मुलुकहरूमध्ये वनक्षेत्रको हिसाबले नेपाल दोस्रो स्थानमा रहेको तथ्य सार्वजनिक भएको छ । आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणअनुसार भुटानपछि सबैभन्दा बढी वनक्षेत्र नेपालमा रहेको देखिएको हो ।
सर्वेक्षणअनुसार भुटानमा कुल भूभागको ६९ दशमलव ७१ प्रतिशत वनक्षेत्र रहेको छ भने नेपालमा ४६ दशमलव शून्य आठ प्रतिशत भूभाग वनले ढाकिएको छ । दक्षिण एसियाका अन्य मुलुकमध्ये श्रीलङ्कामा ३४ दशमलव एक प्रतिशत, चीनमा २२ दशमलव ९६ प्रतिशत, भारतमा २१ दशमलव ७१ प्रतिशत, बङ्गलादेशमा १२ दशमलव आठ प्रतिशत, पाकिस्तानमा चार दशमलव आठ प्रतिशत, माल्दिभ्समा दुई दशमलव सात प्रतिशत र अफगानिस्तानमा एक दशमलव नौ प्रतिशत वनक्षेत्र रहेको उल्लेख गरिएको छ । विश्वभर भने कुल भूभागको ३२ प्रतिशत हिस्सा वनले ढाकिएको छ ।
नेपालको वनक्षेत्र पछिल्ला दशकहरूमा निरन्तर बढ्दै गएको तथ्यांकले देखाएको छ । सन् १९९० मा ३९ दशमलव छ प्रतिशत रहेको वनक्षेत्र सन् २०१५ मा ४४ दशमलव ७४ प्रतिशत पुगेको थियो भने सन् २०१९ मा ४५ दशमलव ३१ प्रतिशत पुगेको थियो । सन् २०२४ सम्म आइपुग्दा यो बढेर ४६ दशमलव शून्य आठ प्रतिशत पुगेको हो ।
हाल नेपालको कुल भूभागमध्ये ४३ दशमलव ३८ प्रतिशत क्षेत्र वनले ढाकिएको छ भने दुई दशमलव सात प्रतिशत भूभाग झाडी तथा बुट्यान क्षेत्रमा पर्दछ ।
आर्थिक सर्वेक्षणअनुसार देशको कुल भूभागमध्ये ३४ हजार ४२० वर्ग किलोमिटर क्षेत्र संरक्षित क्षेत्रका रूपमा रहेको छ, जुन कुल भूभागको २३ दशमलव चार प्रतिशत हो । यस्तै ११ वन संरक्षण क्षेत्रअन्तर्गत हालसम्म एक लाख ९४ हजार १५६ हेक्टर वन क्षेत्र व्यवस्थापन गरिएको छ ।
गत फागुनसम्म मध्यवर्ती तथा संरक्षित क्षेत्रमा ८९९ सामुदायिक वन समूह गठन भएका छन् । यी समूहले करिब दुई लाख २५ हजार आठ हेक्टर क्षेत्रफल व्यवस्थापन गर्दै आएका छन् । त्यस्तै ४८ मध्यवर्ती कबुलियती वनमार्फत ५४८ हेक्टर वन क्षेत्र व्यवस्थापन गरिएको छ ।
सामुदायिक वन व्यवस्थापनतर्फ पनि उल्लेखनीय प्रगति भएको सर्वेक्षणले देखाएको छ । हालसम्म २३ हजार १६२ सामुदायिक वन उपभोक्ता समूहमार्फत २५ लाख नौ हजार ८२५ हेक्टर वन क्षेत्र व्यवस्थापन भइरहेको छ । साथै ३३ साझेदारी वन उपभोक्ता समूहले ४४ हजार ३८४ हेक्टर वन क्षेत्रमा सघन व्यवस्थापन गरिरहेका छन् ।

