काजकिस्तान फाइनलमा, अब नेपाल र इरानबीच प्रतिस्पर्धा
काठमाडौं,जेठ १४ । काभा महिला भलिबल च्याम्पियनशिपअन्तर्गत भारतलाई पराजित गर्दै काजकिस्तान फाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला को कभर्डहलमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा काजकिस्तानले भारतलाई ३–० को सोझो सेटमा हराउँदै उपाधिनजिक पुगेको हो ।
काजकिस्तानले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट २५–१७ ले जित्यो । तेस्रो सेटमा पनि उत्कृष्ट प्रदर्शन गरेको काजकिस्तानले २५–१४ को सहज जित निकाल्दै फाइनल यात्रा तय गर्यो ।
समूह चरणमा भारत ‘ए’ समूहको विजेता बनेर सेमिफाइनल पुगेको थियो भने काजकिस्तान ‘बी’ समूहको उपविजेताका रूपमा अन्तिम चारमा पुगेको थियो । तर निर्णायक खेलमा भारत काजकिस्तानको आक्रामक खेल रोक्न असफल भयो ।
अब दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुँदैछ । बेलुकी ५ बजे सुरु हुने खेलमा घरेलु टोली नेपाल फाइनल प्रवेशका लागि मैदान उत्रनेछ ।
इरान ‘बी’ समूहको विजेता र नेपाल ‘ए’ समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । नेपाली टोली घरेलु समर्थकमाझ ऐतिहासिक सफलता हासिल गर्ने लक्ष्यमा रहेको छ ।

