सडक विस्तारका लागि गोंगबु गणेशथान क्षेत्रमा डोजर, स्थानीयले स्वागत गरे



काठमाडौं,जेठ १४ । टोखा नगरपालिकाले गोंगबु–बानियाँटार सडक खण्डको ट्राफिक जाम व्यवस्थापन गर्ने उद्देश्यले गोंगबु गणेशथान (विचबिनायक) मन्दिर क्षेत्रका संरचना हटाएको छ ।

साविक गोंगबु गाविसका वडा नं. ८, ९, १० र ११ तथा हालका टोखा नगरपालिका वडा नं. ९, १० र ११ को संगमस्थलमा पर्ने उक्त क्षेत्रमा नगरपालिकाले बिहीबार डोजर प्रयोग गरी पाटी, टहरा तथा केही संरचना भत्काएको हो ।

नगरपालिकाका अनुसार साँघुरो सडकका कारण सार्वजनिक सवारीसाधन सञ्चालनमा वर्षौंदेखि समस्या हुँदै आएको थियो ।विशेषगरी बिहान–साँझ कार्यालय समय तथा विद्यालय सञ्चालन हुने समयमा गोंगबु–बानियाँटार सडकमा अत्यधिक जाम हुने गरेको स्थानीयको गुनासो थियो ।

स्थानीयवासीले लामो समयदेखि सडक खुलाउन तथा अवरोध बनेका संरचना हटाउन नगरपालिकासँग माग गर्दै आएका थिए ।नगरपालिकाका एक कर्मचारीका अनुसार स्थानीयको निरन्तर उजुरीपछि सडक विस्तार तथा यातायात सहज बनाउन अभियान अघि बढाइएको हो ।

डोजर प्रयोग गरी विचविनायक गनेद्यःछे तथा गौरी पूजा पसल, एम.के. प्लाजाले निर्माण गरेको फलामे भर्‍याङ र जुत्ता पसल रहेको टहराको केही भाग हटाइएको जनाइएको छ ।

स्थानीय राकेश सिंहले एम.के. प्लाजाले सरकारी जग्गामा रहेको पुरानो इनार अतिक्रमण गरेर पुरेको आरोप लगाए । उनले सार्वजनिक जग्गा संरक्षणमा स्थानीय सरकार अझ कडाइका साथ अघि बढ्नुपर्ने बताए ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी टोखा नगर समितिका नेता जग्गानाथ ढकालले टोखा–१० लगायत क्षेत्रमा रहेका केही सामुदायिक भवनहरू व्यक्तिले भाडामा लगाएर मासिक रकम असुलिरहेको दाबी गर्दै त्यस्ता गतिविधिमाथि छानबिन र कारबाही आवश्यक रहेको बताए ।

ढकालले सबै वडामा अतिक्रमित सार्वजनिक जग्गा संरक्षण अभियान सञ्चालन गर्न स्थानीय सरकारलाई सहयोग गर्न आफ्नो पार्टी तयार रहेको उल्लेख गर्दै अभियानलाई तीव्रता दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्