छहरे–टोखा सडकखण्डमा कार भीरबाट खस्यो, एकको मृत्यु
नुवाकोट,जेठ १४ । काठमाडौँ जोड्ने छहरे–टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका–६ गुर्जेस्थित ठूलो पहराबाट कार भीरबाट खस्दा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
प्रारम्भिक जानकारीअनुसार बागमती प्रदेश पिएई ०५६९ नम्बरको कार सडकबाट झण्डै २०० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयवासी र प्रहरी उद्धार कार्यमा खटिएका छन्।
शिवपुरी गाउँपालिका–६ का जनप्रतिनिधि कमल लामाका अनुसार गुर्जेस्थित प्रहरी चौकी र स्थानीयको सहयोगमा उद्धार कार्य जारी रहेको छ। घाइतेहरूको अवस्था तथा मृतकको पहिचान खुल्न बाँकी रहेको उहाँले बताउनुभयो।
साँझ ६ बजेको आसपास भएको दुर्घटनाग्रस्त कार त्रिशूलीबाट काठमाडौँतर्फ जाँदै गरेको बुझिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

