शुक्रबारदेखि हावाहुरी र चट्याङ्गको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह



काठमाडौँ,जेठ १४। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि देशका विभिन्न क्षेत्रमा हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार शुक्रबार विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ । शुक्रबार र शनिबार यी प्रदेशका केही क्षेत्रमा हावाहुरीको प्रभाव देखिन सक्ने विभागले जनाएको छ ।

हाल देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर सामान्य बदली रहने अनुमान गरिएको छ । लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागसहित बाँकी तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ ।

भोलि शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्