छहरे–टोखा सडकखण्ड दुर्घटना : कार भीरबाट खस्दा एकको मृत्यु, दुई घाइते [विवरण]



नुवाकोट, जेठ १४ — काठमाडौँ जोड्ने छहरे–टोखा सडकखण्ड अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्ज्याङस्थित ठूलो पहराबाट इलेक्ट्रोनिक कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

बिहीबार बेलुका करिब ६ः१५ बजे ढिकुरेबाट काठमाडौँतर्फ जाँदै गरेको बा.ए.ई ०५६९ नम्बरको इलेक्ट्रोनिक कार अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।दुर्घटनापछि स्थानीयवासी र गुर्जेभञ्ज्याङस्थित अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो।

शिवपुरी गाउँपालिका–६ का जनप्रतिनिधि कमल लामाका अनुसार स्थानीय र प्रहरीको संयुक्त प्रयासमा घाइतेहरूलाई भीरबाट निकालेर उपचारका लागि काठमाडौँ पठाइएको हो। दुर्घटनामा सिरहाको सुखीपुर नगरपालिका–२ निवासी करिब ३५ वर्षीय संजिव कुमार चौधरी गम्भीर अवस्थामा रहेका थिए। उनको अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेको गुर्जेस्थित अस्थायी प्रहरी पोस्टले जनाएको छ ।

यस्तै, सुनसरीको इनरुवा नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–८ बस्दै आएका करिब ४० वर्षीय उत्सव पोखरेलको खुट्टामा चोट लागेको छ भने काठमाडौं महानगरपालिका–९ गौरीघाट निवासी करिब ४५ वर्षीय लोकेश मिश्रको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। दुवै जनाको उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्