गोरखामा बुढीगण्डकी बाढी प्रभावित २१ परिवारलाई रेडक्रसको राहत
गोरखा,कात्तिक १८ । नेपाल रेडक्रस सोसाइटी गोरखा जिल्ला शाखाले धार्चे गाउँपालिका–५ माछाखोलाका बुढीगण्डकी बाढी प्रभावित २१ परिवारलाई राहत सामग्री वितरण गरेको छ ।
बाढीका कारण घरबारविहीन भई टेन्टमा बस्दै आएका प्रभावित परिवारलाई चिसो बढ्दै गएपछि राहत सामग्री उपलब्ध गराइएको हो ।
रेडक्रसले प्रभावित परिवारलाई त्रिपाल, कम्बल, म्याट्रेस, भाँडा सेट तथा सरसफाइ सामग्री (हाइजिन किट) लगायतका आवश्यक सामग्री वितरण गरेको जनाएको छ ।
चिसो मौसममा टेन्टमा बस्दै आएका बाढी प्रभावित परिवारलाई राहत सामग्रीले दैनिक जीवनयापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

