नुवाकोट लिखुको कल्छेपाखामा ज्येष्ठ नागरिक आश्रम निर्माण सुरु



नुवाकोट, जेठ १५ — नुवाकोटको पूर्वी भेगस्थित लिखु गाउँपालिका–५ कल्छेपाखामा आधुनिक तथा सुविधा सम्पन्न ज्येष्ठ नागरिक आश्रम निर्माण कार्य सुरु गरिएको छ। आश्रमको शिलान्याससँगै निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो।

निर्माणाधीन आश्रमको प्रदेशसभा सदस्य रमेशकुमार महत ले बिहीबार शिलान्यास गरेका हुन्। नेपाली कांग्रेस नुवाकोटका सभापतिसमेत रहेका महतले बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको लगानीमा आश्रम निर्माण थालिएको जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षमा ३५ लाख रुपैयाँ विनियोजन गरी निर्माण कार्य सुरु गरिएको हो।

महतले आश्रम सञ्चालनमा आएपछि असहाय, अशक्त तथा सहाराविहीन ज्येष्ठ नागरिकलाई आश्रय र आवश्यक सेवा उपलब्ध गराइने बताए। साथै सोही क्षेत्रमा विगतदेखि सञ्चालनमा रहेको धुलिखेल सामुदायिक अस्पताल को स्वास्थ्य सेवा पनि ज्येष्ठ नागरिकले सहज रूपमा प्राप्त गर्न सक्ने भएकाले आश्रम थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ ले नुवाकोटको विकासमा प्रदेश सरकारको योगदान उल्लेख गर्दै सडक, सिँचाइ, खानेपानी, विद्युतिकरण तथा शिक्षाका क्षेत्रमा महत्वपूर्ण काम भइरहेको बताए।

शिलान्यास कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्