छहरे-टोखा कार दुर्घटनाप्रति सञ्चारमन्त्री तिमिल्सिनाको दुःख व्यक्त, विभत्स तस्बिर साझा नगर्न आग्रह
नुवाकोट, जेठ १५ — नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले छहरे–टोखा सडकखण्डमा भएको कार दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
बिहीबार साँझ भएको दुर्घटनाप्रति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री तिमिल्सिनाले दुर्घटनामा ज्यान गुमाएका सिराहा सुखीपुर–२ निवासी ३५ वर्षीय संजिव कुमार चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्। साथै उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
मन्त्री तिमिल्सिनाले दुर्घटनामा घाइते भएका उत्सव पोखरेल र लोकेश मिश्रको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्। उनले सामाजिक सञ्जाल प्रयोगकर्तालाई दुर्घटनासँग सम्बन्धित विभत्स तस्बिर तथा भिडियोहरू साझा नगर्न आग्रह गर्दै संवेदनशीलता अपनाउन अनुरोध गरेका छन्।
टोखा–छहरे सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्ज्याङ क्षेत्रमा भएको उक्त दुर्घटनामा कार सडकबाट झण्डै २०० मिटर तल भीरबाट खसेको थियो। दुर्घटनापछि स्थानीय, प्रहरी तथा उद्धार टोलीले तत्काल उद्धार कार्य सञ्चालन गरेका थिए।

