नुवाकोट ककनीका ज्येष्ठ नागरिकलाई सम्मान



नुवाकोट,जेठ १५ । नुवाकोटको ककनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई केवल औपचारिक सम्मानमा सीमित नराखी उनीहरूको अनुभव, ज्ञान र जीवन संघर्षलाई समाजको अमूल्य सम्पत्तिका रूपमा स्थापित गर्ने प्रयास थालेको छ। बदलिँदो सामाजिक परिवेशमा परिवार र समाजबाट क्रमशः एक्लोपन महसुस गरिरहेका वृद्धवृद्धालाई आत्मीयता र सम्मानको अनुभूति दिलाउने उद्देश्यसहित गाउँपालिकाले “ज्येष्ठ नागरिक ज्ञान तथा सम्मान कार्यक्रम” सञ्चालन गरेको हो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त अभियान वडा नम्बर २ को बालशिक्षा भवन (ठूलो चित्रे) तथा वडा नम्बर ६ को आधारभूत स्वास्थ्य भवनमा सम्पन्न भएको थियो। कार्यक्रममा ८५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई सहभागी गराई सम्मान गरिएको थियो।

कार्यक्रमको वातावरण केवल सम्मान समारोहमा सीमित थिएन। त्यहाँ जीवनका अनुभवहरू साटासाट भए, पुराना पुस्ताका भोगाइहरू सुनिए र समाजले बिर्सिन थालेको रैथाने ज्ञानको महत्वबारे पनि चर्चा भयो। कार्यक्रममा मानव कल्याण समाजका अध्यक्ष एवं प्रशिक्षक देवि सुमि मानव ले ज्येष्ठ नागरिकहरूको अधिकार, मानसिक तथा शारीरिक स्वास्थ्य र उनीहरूमा रहेको अनुभवजन्य ज्ञानको महत्वबारे सहजीकरण गर्नुभएको थियो।

उहाँले आधुनिक समाजमा वृद्धवृद्धा केवल परिवारका अभिभावक मात्र नभई संस्कार, सीप र परम्पराका जीवित पुस्तक भएको उल्लेख गर्दै उनीहरूको सम्मानले समाजलाई नै दिशानिर्देश गर्ने बताउनुभयो।कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूलाई दैनिक जीवन सहज बनाउन लौरो (स्टिक) वितरण गरिएको थियो भने स्वास्थ्य र पोषणलाई ध्यानमा राख्दै पोषणयुक्त खानेकुरा पनि प्रदान गरिएको थियो। गाउँपालिकाले वृद्धवृद्धाको शारीरिक आवश्यकता र आत्मसम्मानलाई जोड्दै कार्यक्रमलाई व्यवहारिक बनाउने प्रयास गरेको देखिन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै मिठ्ठुमाया लामा ले राज्यले उपलब्ध गराउँदै आएको नियमित सेवा–सुविधाभन्दा बाहिर गएर पनि ज्येष्ठ नागरिकका आवश्यकता सम्बोधन गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले सीमित बजेटका बाबजुद कार्यक्रमको सुरुवात गरिएको उल्लेख गर्दै आगामी वर्षहरूमा वडा तहबाटै थप बजेट विनियोजन गरी ज्येष्ठ नागरिक लक्षित प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“अहिलेसम्म पालिकाले सम्मान र राहतका कार्यक्रम सञ्चालन गर्दै आएको छ, अब उहाँहरूको आवश्यकता अनुसार थप प्रभावकारी योजना अघि बढाइनेछ,” उहाँको भनाइ थियो।

त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख कविता काफ्ले ले ज्येष्ठ नागरिकहरू समाजका मार्गदर्शक र ज्ञानका स्रोत भएको बताउनुभयो। उहाँले उनीहरूको सम्मान र संरक्षण स्थानीय तहको दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा स्वास्थ्य, पोषण र अधिकार सुनिश्चित गर्ने रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

“समृद्ध ककनीको आधार : कृषि, पर्यटन र दिगो पूर्वाधार” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा वडा नम्बर २ र ६ का जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, ज्येष्ठ नागरिकका परिवारजन तथा स्थानीय सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।

स्थानीय तहले ज्येष्ठ नागरिकलाई केवल सहायता प्राप्त गर्ने वर्गका रूपमा नभई समाज निर्माणका अनुभवी अभिभावकका रूपमा सम्मान गर्न थालेको यो प्रयास ग्रामीण समाजमा सकारात्मक सन्देशका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्